Logo

कोरोनाको बहानामा काम ठग्दै कर्मचारी



काठमाडौंं, २८ साउन । कोरोना संक्रमणका बेला सरकारी कर्मचारीहरु सुरक्षा प्रबन्ध गर्दै आम नागरिकको सेवामा लाग्नुको साटो हाजिर गर्दै ‘टाप’ कस्ने क्रम बढेको छ । अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा निकायका तल्लो तहका सदस्य भने ज्यान जोखिममा पारेर नागरिकको सेवामा लागेका छन् । संघीय सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदबारमा सोमबार र मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म स्थलगत अबलोकन गर्दा करिब ७० प्रतिशत कर्मचारीका कुर्सी रित्ता देखिए ।

संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकृतले नेपाल समाचारपत्रलाई भने ‘खाजा खाने समयभन्दा पछि त म पनि घर जाने हो, कोरोनाको जोखिम मलाई पनि छ नि ।’ कोरोना संक्रमणको जोखिम बढेकाले प्रहरीले सिंहदबार प्रवेशमा कडाइ गरेको छ । त्यससँगै तुलनात्मक रुपमा सुनसान देखिएको सिंहदरबारमा कर्मचारीहरु कार्यालय समयभन्दा ढिला आउने र चाँडै जाने गरेको पाइएको छ ।

स्थानीय र प्रदेशसंँगै संघीय सरकारको विभिन्न मन्त्रालयका कर्मचारीमा कोरोनाको संक्रमण देखिएकाले त्रास बढेको भन्दै कर्मचारीहरु मन्त्रालयमा बसेर काम गर्न खासै जाँगर नदेखाएको संघीय मामिलाका उच्च अधिकारीहरु बताउँछन् । आइतबार स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना देखिएपछि त्यसको त्रासले कोरोनाको जोखिम भन्दै कर्मचारीहरु काम गर्न खासै उत्साहित नदेखिएको संघीय मामिलाका उच्च अधिकारीहरु बताउँछन् ।

आफ्नै सवारीसाधन हुने कतिपय कर्मचारीहरु हाजिर गर्दै टाप कस्ने गरे पनि अधिकांशं कर्मचारीहरु ५ बजेपछि मात्र घर जाने गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीको दाबी छ । ‘हाजिर गर्दै टाप कस्ने कर्मचारी पनि छन्, कार्यालय समय सकिएपछि मात्र घर पनि जाने पनि छन् । यस्तै छ भनेर भन्न सकिने अवस्था छैन’ –ती अधिकारीले भने ।

यसैगरी कर्मचारी सम्बद्ध टे«ड युनियनहरु कोरोनाको त्रासको बेला सिहंदबारमा कर्मचारीको भीडभाड हटाउनुपर्ने र त्यसका लागि एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने तिर लविङ गर्न थालेका छन् ।

कर्मचारीहरु सिफट्अनुसार काम गर्ने व्यवस्था गर्नुपर्ने सुझावहरु आउन थालेको संघीय मामिलाका प्रवक्ता वसन्त अधिकारीले बताउनुभयो । ‘कर्मचारीहरुमा कोरोनाको त्रास निकै देखिएको छ । हप्ता दिन वा १० दिनको एकचोटि कर्मचारीहरु कार्यालय आउने त्यसरी आएका कर्मचारीहरुलाई एक साता बिदा दिने अनि फेरि आउने व्यवस्था गर्नुपर्ने सुझावहरु आउन थालेको छ ।’ –प्रवक्ता अधिकारीले भन्नुभयो । यो खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्