काठमाडौं, साउन ३० । सत्तारूढ नेकपामा देखिँदै आएको संकट पाँच दिनभित्रै समाधान हुने घोषणा गरेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि नै अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गहन छलफल थालेका छन् ।
ओलीले बुधबार एक अन्तर्वार्तामा नेकपामा देखिएको संकट पाँच दिनभित्रै समाधान हुने र त्यसका लागि बिहीबारदेखि नै काउन्टडाउन थाल्न आग्रह गरेका थिए । ओलीले त्यस्तो आग्रह गरेको भोलिपल्टै लामो समयदेखि अवरुद्ध दुई अध्यक्षबीचको छलफलले निरन्तरता पाएसँगै नेकपामा देखिएको संकट समाधान हुने संकेत देखिएको छ ।
बिहीबार भएको दुई अध्यक्षबीचको छलफलका क्रममा नेकपामा लामो समयदेखि देखिँदै आएको विवाद समाधान उन्मुख रहेको बताइएको छ । दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको नेकपा स्रोतको दाबी छ ।
अध्यक्षद्वय ओली र दाहालबीच संवाद टुटेपछि महासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मालगायतका नेताहरूले छलफलका लागि पहल गरेका थिए ।
उनीहरूले बुधबार नै ओली र दाहाललाई छुट्टाछुट्टै भेटेर सहमतिका लागि छलफललाई निरन्तरता दिनुपर्नेमा दबाब दिएका थिए । आठ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच झन्डै चार घण्टा लामो ‘वान टु वान’ छलफल भएको आजको राजधानी दैनिकमा खवर छ ।