Logo

उपत्यका प्रवेश गर्न खोज्ने १९ हजारलाई फर्काइयो



काठमाडौं, ३० साउन । सरकारले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई विभिन्न नाकाबाट फर्काएको छ। लकडाउन भएदेखि बिहीबारसम्म ७ हजार ६ सय ३५ गाडी र १९ हजार ४ सय ८३ जनालाई नाकाबाट फर्काइएको गृह मन्त्रालयले जनाएको छ।

 

गृहमन्त्रालयका अनुसार अहिलेसम्म मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइएको छ। जसमध्ये ३ लाख ५४ हजार ८ सय २४ जनालाई सम्झाइएको छ भने ३९ हजार ५ सय ७ जनालाई मास्क दिएर पठाइएको छ।

 

प्रहरीले मास्क नलगाउने २५ हजार २ सय ७ जनालाई जरिवाना गरेको छ। सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ।

काठमाडौं उपत्यका भित्र र दुई सय भन्दा धेरै संक्रमित रहेका जिल्लामा जोरबिजोर प्रणालीमा सवारी चलाउने दिने, आवागमनको लागि तोकिएको गाडीमात्र चल्न दिने, अनिवार्य मास्क लगाउनुपर्ने, व्यक्तिगत दूरी कायम गर्नुपर्ने लगायतका निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको छ। सोही अनुसार गृहमन्त्रालयले ७७ जिल्ला प्रशासन र सुरक्षा निकायमा सर्कुलर गरेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्