Logo

कोरोनाबाट सिरहाका पुरुषको विराटनगरमा मृत्यु



विराटनगर, ३० साउन । कोरोना भाइरसको संक्रमणबाट सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको बिहीबार राति विराटनगरमा मृत्यु भएको छ। विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत उनको राति ८ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। चुमनलाल दासले बताए। उनलाई उपचारका लागि मंगलबार उपचारका लागि विराटनगर ल्याइएको थियो। कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरेर परीक्षणका लागि स्वाब संकलन गरिएको भए पनि रिपोर्ट भने बिहीबार साँझ ७ बजेमात्रै आएको थियो।

कोरोना रिपोर्ट पोजिटिभ आएको एक घण्टापछि नै उनको मृत्यु भएको डा। दासले बताए। उनकाअनुसार मृतक पुरुषमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो। उनको शरीरमा रगतको पनि कमी देखिएको जानकारी डा। दासले दिए।

अवस्था गम्भीर बन्दै गएपछि ती पुरुषलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन खोजिएको थियो। तर धरानले संक्रमितले भरिएका कारण बेड खाली नभएको जनाएपछि कोशीमै राखेर उपचारलाई निरन्तरता दिइएको दासको भनाइ छ।

कोशी अस्पतालको आइसोलेसनमा कोरोनाका शंकास्पदलाई राखेर प्रारम्भिक चरणको उपचार मात्रै हुन्छ। प्रयोगशालामा स्वाब संकलन गरेर परीक्षणपछि रिपोर्ट पोजिटिभ आएमा त्यहाँबाट स्वास्थ्य अवस्था हेरेर कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र वा धरान रेफर गर्ने गरिएको छ।
धरानमा भने कडा लक्षण देखिएका संक्रमितको उपचार गर्ने भेन्टिलेटरसहितको लेभल थ्री अस्पताल सञ्चालनमा छ। विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा लक्षण नदेखिएका सामान्य अवस्थाका संक्रमितको मात्रै उपचार हुन्छ।

बिहीबार दिउँसो विराटनगर–१५ का ३० वर्षीय पंकज गुप्ताको पनि कोशी अस्पतालकै आइसोलेसनमा मृत्यु भएको थियो। तर मृत्यु भएपछि साँझ ७ बजे उनको कोरोना रिपोर्ट नेगेभिट आएको थियो। कोरोनाको लक्षण देखिएका युवाको मृत्यु भए पनि रिपोर्ट नेगेटिभ आएको भन्दै शंका लागेर चिकित्सकले अर्को पटक पनि स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाएका छन्। तर त्यसको रिपोर्ट भने आइसकेको छैन।
सिरहाका पुरुषको ज्यान गएसँगै कोरोनाका कारण कोशी अस्पतालको आइसोलेसनमा मृत्यु हुनेको संख्या छ पुगेको छ। यसअघि विराटनगर–९ का दुई जना, विराटनगर– ३ र ५ का एक–एक जना र रंगेली नगरपालिका– ८ का एक पुरुषको कोशीमै मृत्यु भएको खबर समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्