काठमाडौं, साउन ३० । वीर अस्पतालका एक वरिष्ठ चिकित्सकमा कोरोना संक्रमण भएपछि उनी यतिखेर टिचिङ अस्पतालको कोभिड–१९ वार्डमा उपरचाररत छन्। उनमा गम्भीर समस्या देखिएपछि टिचिङ अस्पताल भर्ना गरिएको हो।
त्यसैगरी सोही अस्पतालका अर्का एक चिकित्सकमा पनि गम्भीर समस्या देखिएपछि टिचिङमै उपचार भइरहेको अस्पतालले जनाएको छ।
यसअघि नै विराट अस्पतालका सञ्चालक डा ज्ञानेन्द्र कार्की पनि टिचिङमै उपचार गरी निको भएका थिए। यीसहित नेपालमा २३ जना चिकित्सकमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्याको तथ्यांक छ।
मन्त्रालयमा मंगलबारसम्म प्राप्त तथ्यांकअनुसार १९ जना नर्स , ८८ जना प्यारामेडिक्स, फार्मेसिष्ट र अन्य स्वास्थ्यकर्मीलाई संक्रमण भएको छ। बाँकी ५५ जना प्रहरी अस्पतालसित सम्बन्धित प्रहरी तथा सेना, कर्मचारी, चालकलगायत छन्।
यीमध्येमा सबैभन्दा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका स्वास्थ्यकर्मी बढी संक्रमित रहेको तथ्यांक छ। सो अस्पतालका ३१ जना नर्स र ९ जना चिकित्सक र १५ जना प्यारामेडिक्स संक्रमित भएका छन्। टिचिङ अस्पतालमा १२ जना नर्स र दुईजना चिकित्सकमा कोभिड–१९ पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालको आकस्मिक कक्षका चिकित्सक तथा नर्स संक्रमित भएपछि आकस्मिक सेवा नै बन्द गरिएको छ। कक्षमा काम गरेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको परीक्षण गरेपछि मात्र सेवा सुचारु गर्ने टिचिङ अस्पतालका कोभिड–१९ संयोजक डा सन्तकुमार दासले बताएको आजको नागरिक दैनिकमा खवर छ ।