Logo

सेटिङको आशंकामा लोकसेवा परीक्षा रद्द



काठमाडौं, साउन ३१ । लोकसेवा आयोगले लिएको मौखिक परीक्षामा सेटिङको आशंका भएपछि त्यसको लिखित परीक्षासमेत रद्द भएको छ। बुधबार आयोगले सूचना निकाली पहिले लिइएकोे लिखित परीक्षासमेत रद्द गरी नयाँ परीक्षा लिने घोषणा गरेको हो।

असार ३१ गते सूचना प्रविधिविज्ञ (सहसचिवसरह) पदका लागि परीक्षा लिने कार्यक्रम तय गरिएको थियो। एक सिटका लागि तीन परीक्षार्थीले परीक्षाका लागि तयारी गरेका थिए।

तर, अकस्मात् परीक्षा स्थगित भएको सूचना टाँगियो। आयोग स्रोतअनुसार उक्त परीक्षामा परीक्षार्थी र परीक्षा लिने व्यक्तिबीच सेटिङ भएको आशंका भएपछि परीक्षा स्थगित गरिएको हो।

२०७६ पुस १५ र १६ गते सूचना प्रविधिविज्ञका लागि आयोगले लिखित परीक्षा लिएको थियो। सो परीक्षामा १० परीक्षार्थी सहभागी भएका थिए। १० जनामध्येबाट ३ जना लिखित उत्तीर्ण भए। असार ३१ गते मौखिक परीक्षाको कार्यक्रम तय गरिएको थियो।

तर, परीक्षा लिनुअगाडि नै सेटिङको आशंकामा लिखित परीक्षा रद्द गरिएको आयोग प्रवक्ता गीताकुमारी हुमागाईंले बताइन्। नयाँ परीक्षाको मिति भने तय नगरिएको उनले जानकारी गराइन्। परीक्षा रद्द गर्नुपरेको विषयमा आयोगले अनुसन्धान गरिरहेको उनले जाकारी दिइन्।

सेटिङ भएको विषयमा उनले स्पष्ट जवाफ दिइनन्। उनले भनिन्, ‘यसबारे आयोगले अनुसन्धान गरिरहेको हुनुपर्छ।’

आयोगको परीक्षामा सेटिङ भएको घटना यसपटक मात्र होइन। यस्ता घटना बारम्बार दोहरिएका छन्। गत जेठ महिनामा आयोगका शाखा अधिकृत मिमबहादुर शाहीले आफ्नी छोरीको उत्तरपुस्तिका सच्याई छोरीलाई पहिलो नम्बरमा पास गराउने प्रयास गरेका थिए।

हाल शाही निलम्बनमा परेका छन्। केही वर्षअघि सचिव सूर्यप्रसाद गौतम आयोगमा हुँदा उनले आफ्नी पत्नीको उत्तरपुस्तिका आफैं जाँचेर पास गराएका थिए। आयोगले दोषी पत्ता लगायो र उनी निलम्बनमा परे।

हाल उनको निलम्बन फुकवा भएको छ र संघीय मामिला मन्त्रालयमा कार्यरत रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्