Logo

सिन्धुपाल्चोक पहिरोमा मृत्यु भएका १६ को सनाखत, २३ अझै बेपत्ता



चौतारा, ३२ साउन। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा पहिरोमा पुरिएर मृत्यु भएका १६ जनाको सनाखत भएको छ । शुक्रबार बिहानको पहिरोमा पुरिएका ३९ मध्ये १६ को शव निकालिएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा परी वर्ष ३६ की टीकामाया दोङ, १४ का छिरीङ दोङ, ८ का मिलन दोङ, ५ का सानु दोङ, ७० का जयबहादुर दोङ, ३० की दावा लमु दोङ, ५ की प्रिति दोङ, ५ की तारालामु दोङ, ३४ की धनमाया दोङ र ४ महिनाकी रेमीश दोङको सनाखत भएको हो ।

त्यस्तै आज थप चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ । सोह्र वर्षीय माईला पाराङ, ३७ की मेकमाई, १९ की च्यामा, ७ की विमला र सात महिनाको कविर दोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भन्नुभयो । नेपाली सेना, प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाहरूको खोजी जारी राखेका छन् ।’ घाइतेहरू रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरीङ दोङ, दावालाङ्वो दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौँको सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot