काठमाडौं, साउन ३२ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण बन्द गर्दै एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतसमेत बन्द गराएपछि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरिएको हो ।
काठमाडौं भित्रने मुख्य नाका नागढुंगासहित साँगा, फर्पिङ, ककनी, टोखा, साँखु क्षेत्र हुँदै उपत्यका बाहिरबाट आउनेहरूलाई प्रहरीले सुरु बिन्दुमा नै रोक्न सुरु गरेको छ । यस्तै, पुराना पास देखाएर आउनेहरूलाई समेत नाकामा खटिएका सुरक्षाकर्मीले धमाधम फर्काउन थालेको आजको राजधानी दैनिकमा खवर छ ।