Logo

झापाका चार पालिकामा ‘लकडाउन’



झापा, ३२ साउन । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम बन्द हुन थालेका हुन् ।

बन्दाबन्दी घोषणा गर्नेमा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन् । चारवटै पालिकाले एक हप्ताका लागि बन्दाबन्दी घोषणा गरेका हुन् । दमक नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकका पाँच कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै आजदेखि एक हप्ताका लागि नगरपालिका बन्द गरेको हो ।

मेचीनगर नगरपालिकाले आम्दा मेची अस्पतालका चिकित्सक, फुटबल खेलाडीलगायत समुदाय स्तरमा नै कोरोना सङ्क्रमण देखिएपछि तीन दिनदेखि अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेको छ । कमल गाउँपालिकाले छिमेकी नगरपालिका दमकमा समुदायमा कोरोना फैलिएको भन्दै आंशिक बन्द गरेको छ । पालिकाले सूचना नै जारी गरेर सातैवटा वडाका जनप्रतिनिधिसहित कर्मचारीको समेत पिसीआर परीक्षण गराउनुपर्ने भएको हुँदा रिपोर्ट नआएसम्म कार्यालय नै नखोलिने जानकारी गराएको छ ।

सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठद्वारा जारी गरिएको सूचनामा सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायहरु पालना गर्न कमल गाउँपालिकाभित्रका जनतालाई समेत अपिल गरिएको छ । त्यसैगरी बुद्धशान्ति गाउँपालिकाले छिमेकी मेचीनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी घोषणा गर्नुपरेको जनाएको छ । मेचीनगर र अर्जुनधारा नगरपालिकासँग सीमा जोडिएको बुद्धशान्तिले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र पालिकाले तोकेको समयावधिमा मात्र पसल खोल्नसमेत आग्रह गरेको छ ।

यसअघि अर्जुनधारा नगरपालिका र विर्तामोड नगरपालिकाले समेत एक हप्ता बन्दाबन्दी गरेका थिए । समुदायमा कोरोना देखिएपछि सङ्क्रमति व्यक्तिसँग सम्पर्कमा आएका २०० बढी व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसीआर परीक्षणसमेत गरिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्