सिन्धुपाल्चोक, साउन ३२ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी पहिरामा परेर बेपत्ता भएकाको खोजी कार्यमा समस्या आएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले पहिरो गएको दिन (शुक्रबार)बाटै बेपत्ताको खोजीकार्यलाई तीव्रता दिए पनि हाते औजार प्रयोग गरेर मात्रै बेपत्ताहरू भेटिने सम्भावना कम हुँदै गएको छ ।
बेपत्ताको खोजीका लागि आइतबारबाट स्काभेटर प्रयोग गरिने भएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १५-१५ र नेपाली सेनाका २५ जना खोजबिनमा सक्रिय छन् ।
नेपाली सेनाले शनिबार हेलिकोप्टरमार्फत थप ३५ जनालाई पहिरो स्थलमा पठाएको छ । गाउँपालिकासँग समन्वय गरेर स्काभेटर लगेर पहिरो पन्छाएर बेपत्ताको खोजी गरिने प्रहरीले जानकारी दिएको छ ।
आइतबार बिहानसम्म पहिरो स्थलमा स्काभेटर पुग्ने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।पहिरामा पुरिएकामध्ये शनिबार बेलुकीसम्म १८ जनाको शव फेला परेको छ । पहिरामा अझै २० जना हराइरहेका छन् ।राजधानी दैनिकबाट