Logo

प्रदेश २ मा सरकार फेरिने चर्चा ‘को बन्छ मुख्यमन्त्री’



जनकपुरधाम, ३२ साउन । कोरोनाको महामारीबीच नेकपामा किचलो चलिरहँदा प्रदेश २ मा मुख्यमन्त्री र मन्त्री मण्डलमा नयाँ अनुहार ल्याउने कि पुरानै राख्ने बहस सुरु भएको हो। जेठको पहिलो साता राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकीकरण भएको थियो। त्यस पश्चात गठन भएको जनता समाजवादी पार्टी जसपाको प्रदेश सभाको संसदीय दलको नेता चुन्न लबिङ भइरहेको छ।

पार्टी संसदीय दलका नेता जो बन्छ उ नै मुख्यमन्त्री बन्ने छन्। प्रदेश २ मा जसपासँग सरकार गठन गर्ने बहुमत छ। तत्कालीन राजपा र संघीय समाजवादी पार्टी मिलेर प्रदेश २ मा सरकारको नेतृत्व गरेका थिए।

जितेन्द्र सोनल राजपाको तर्फबाट संसदीय दलको नेता थिए भने प्रमुख सचेतक प्रमेश्वर साह थिए। संघीय समाजवादी पार्टीबाट लालबाबु राउत संसदीय दलको नेता छनोटपछि उनी मुख्यमन्त्री बनेका थिए। राउतको पार्टीको संसदीय दलको उपनेता प्रदेशसभा सदस्य रामशिष यादव थिए भने, प्रमुख सचेतक शैलेन्द्र यादव।

नेपालको संविधान(२०७२ को धारा १८९ अनुसार संसदीय दलको नेता छनोट गरिनु पर्ने व्यवस्था छ। संसदीय दलको नेता मात्र मुख्यमन्त्री बन्ने प्रवधान छ। पार्टी एकीकरण पश्चात एउटै दलको नेता चुन्नु पर्ने बाध्यता पार्टीसँग छ।

पार्टी एकीकरणपछि प्रदेश(२ को मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्न हालका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनल, आर्थिक विकास योजनामन्त्री विजयकुमार यादव, मनिष सुमन, रामअशिष यादवको नाम चर्चामा छ। मुख्यमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्छ।

मुख्यमन्त्रीका लागि दलको नेता बन्न नेताहरुको दौडधुप छ। पार्टी अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई, डा। बाबुराम भट्टराईलाई भेट्नेको भीड बढेको छ।

चार दिन पहिले पार्टीका १४ प्रदेशसभा सदस्यले मुख्यमन्त्री राउतको सरकार पूर्णरुपमा असफल भएको भन्दै पार्टी अध्यक्ष तथा वरिष्ठ नेतालाई भेटेर राउतको टिमलाई फिर्ता बोलाई नयाँ अनुहारकालाई सरकारको नेतृत्वमा लानु पर्ने माग राखेका छन्।

आफ्नो कुर्सी बचाउन मुख्यमन्त्रीसहित मन्त्री एक सातादेखि काठमाडौंमा बसेर पार्टी नेता कहाँ लबिङ गरिरहेका छन्। मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनल, आर्थिक विकास योजनामन्त्री विजयकुमार यादव, समाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय आफ्नो पद बचाउन काठमाडौंमा बसेर छलफल गरिरहेको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्