जनकपुरधाम, साउन ३२ । प्रदेश २ मा कोरोना संक्रमण भयावह भएको छ। संक्रमणले हालसम्म ४२ जनाको ज्यान लिइसकेको छ। ६ हजार ६ सय २६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
गम्भीर प्रकृतिका बिरामीलाई भेन्टिलेटर उपलब्ध छैन। हालसम्म अधिकांश बिरामीले उपचार अभावमै ज्यान गुमाएका छन्।
प्रदेशका सरकारी अस्पतालमा ९ वटा मात्र भेन्टिलेटर छन्। त्यसमध्ये ४ वटा मात्रै कोभिड संक्रमितको उपचारमा प्रयोग गरिएको छ।
निजी अस्पतालमा भेन्टिलेटर भए पनि कोभिडका बिरामीलाई भर्ना लिइँदैन। जनकपुर प्रादेशिक अस्पतालमा ५ वटा भेन्टिलेटर भए पनि कोभिड अस्पतालको आइसोलेसनमा एउटा मात्रै उपलब्ध छ।
राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालको एउटा भेन्टिलेटर जडान नभई थन्किएको छ। भौतिक संरचनाको कमी र जनशत्तिाmको अभावले भेन्टिलेटर जडान नगरिएको सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जितकुमार झा बताउँछन्।
‘भेन्टिलेटर सञ्चालन गर्नका लागि छुट्टै विभाग नै बनाउनुपर्छ र हामी त्यसका लागि सक्षम छैनौं’, उनी भन्छन् ‘तर, कोभिडका गम्भीर प्रकृतिका बिरामीका लागि निजी अस्पतालसँग समन्वय गरेर भेन्टिलेटर उपलब्ध गराउने व्यवस्था मिलाउदैछौं।’
कोरोना संक्रमणको सुरुवातमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा ५० वटा भेन्टिलेटर खरिद गर्ने यो महामारीबाट जुध्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए।
तर, कोरोनाविरुद्धको संघर्षमा प्रदेश २ सरकारले गत आर्थिक वर्षमा २ अर्बभन्दा बढी रकम खर्च गरे पनि भेन्टिलेटर नखरिद नगरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।