Logo

ओली-प्रचण्डप्रति नेपाल र खनाल सशंकित



काठमाडौं, ३२ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद समाधान गरेर बढ्ने सहमति भएपनि नयाँ विवाद सृजना भएको छ । पार्टीमा दुई अध्यक्ष बसेर विवाद समाधानको खाका तयार गर्न कार्यदल बनाएको प्रक्रियामा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । उनीहरुले पार्टी पद्धतिलाई बेवास्ता गरेर दुई अध्यक्षले निर्णय गरेर जाने परिस्थित सृजना गर्न खोजेकोमा आपत्ती जनाइसकेका छन् ।

नेपाल र खनालले सार्वजनिक रुपमा दुई अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाए । पार्टी कमिटीलाई बेवास्ता गरेर जान नहुनेमा फेरि त्यही शैली दोहोरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । विशेषगरी विवाद समाधानको खाका तयार गर्न कार्यदल बनाउने निर्णय सचिवालय बसेर गर्नुपर्ने उनीहरुको भनाई थियो । ओली र प्रचण्डले सहमति निकालेर आफूहरुलाई वाइपास गर्न खोजेको रुपमा नेपाल र खनालले बुझेको देखिन्छ । उनीहरु पछिल्लो विकसित घटनाक्रमबाट सशंकित भएका छन् ।

नेकपाभित्र ओली र प्रचण्ड विवाद समाधानतर्फ बढेपछि नेपाल र खनालको असन्तुष्टि सार्वजनिक रुपमै प्रकट भएको छ । यसले अब फेरि तीन गुटको टकरावतर्फ नेकपा गएको छ । पहिलो गुटको नेतृत्व अध्यक्ष ओलीले गर्दै आएका छन्, दोस्रो गुटको नेतृत्व प्रचण्डले र तेस्रो गुटको नेतृत्व वरिष्ठ नेताद्वय खनाल र नेपालले गर्ने संकेतहरु देखिएको छ ।

यसअघि नेकपा उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्र तीन लाइन रहेको बताएका थिए । उनले ओली र उनी इतर समुहका प्रचण्ड, नेपाल र ओलीको दोस्रो र आफ्नो गरी तीन लाइन रहेको बताएपछि परिस्थितिले गौतमलाई ओली निकट बनाएको छ । अब ओली, प्रचण्ड र माधव खनाल गुटबीच टकराव देखिने भएको छ ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले कार्यदल गठनको निर्णयप्रति गुनासो र भत्र्सना गरेको स्वीकार्य नहुने बताएका छन् । उनले चार जनाको मोर्चा कार्यदल गठनसँगै तीन जनातिर खुम्चिंदै जानुलाई सकारात्मक संकेत भनेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठप्रति संकेत गर्दै भनेका छन्, दुईजना अध्यक्षबीचको समझदारी, पारस्परिक विश्वास र सरसल्लाहबाट निकालिने निष्कर्ष नै नेकपाको हकमा विधानसम्मत, सही र संस्थागत प्रक्रिया हो ।

ओली र प्रचण्ड सहमतितर्फ बढ्न खोज्दा नेपाल र खनालको असन्तुष्टिलाई थापाले अविश्वास बढाएर आफ्नो स्वार्थसिद्ध गर्ने दाउपेच भनेका छन् । उनले चेतावनीको शैलीमा भनेका छन्, दुई अध्यक्षका बीच विवाद र अविश्वास बढाएर आफ्नो स्वार्थद्धि गर्ने दाउपेचमा कोही संलग्न भएर आफ्नो इतिहास, भूमिका र सार्वजनिक प्रतिष्ठालाई क्षयीकरण गर्ने भूल नगरेकी राम्रो ।

नेकपाभित्र ओली र प्रचण्डले जे सहमति गर्छन् त्यो नै मान्नुपर्ने ओलीका सल्लाहकारबाट भनाई आउनुलाई अर्थपूर्ण मानिएको छ । दुई अध्यक्ष मिल्न खोज्दा अर्को समुहले नयाँ प्रश्न खडा गर्नुलाई अब नेकपाभित्र तीन लाइनको संघर्ष चल्ने संकेतका रुपमा बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot