नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचनले नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन सम्वाद हुनु सकारात्मक भएको र यसले सम्वादको ढोका खोलिदिएको बताएका छन् । अब यसलाई नेपालले अवसरको रुपमा परिवर्तन गर्न सक्नुपर्ने पनि उनको तर्क छ । प्रस्तुत छ गौचनसँग पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रमको लागि गरेको कुराकानीको सम्पादित अंश :
नेपाली कांग्रेसभित्र पनि महाधिवेशनको चर्काचर्की सुरु भयो । उम्मेदवारीको होडबाजी चलिरहेको छ नि ?
त्यो स्वभाविक नै हो । तर यो लकडाउनले जति रौनक आउनुपर्ने हो, त्यति आएको छैन ।
सभापतिको लागि उम्मेदवार त धेरै आए नि मैदानमा यसपटक ?
खुशीको कुरा नयाँ नयाँ व्यक्तिले दाबी गरेका छन् । मलाई सम्झना के छ भने आजभन्दा करिब २० वर्ष अगाडि किसुनजी र गिरीजाप्रसाद कोइराला हुँदा आदरणीय शेरबहादुर दाई र रामचन्द्रजीको टोलीहरूले दोस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्ने माग राखेको हिजो जस्तो लाग्छ । यसो हेर्दा २० वर्ष जति गएछ । त्यो हेर्दा उहाँहरूको उमेर ७४/७५ तिर छ क्यारे । त्यसलाई २० वर्ष घटाउँदा ५५/५४ वर्ष हुँदो रहेछ । अहिले उम्मेदवार दाबी गर्नेहरूको उमेर पनि ५० देखि ५५ वर्ष, ६०/६२ का छन् । त्यसैले शेरबहादुर दाई र रामचन्द्रजीले विगतमा राख्नुभएको माग उहाँहरूले दोहो¥याउनुभएको छ । त्यो माग पूरा गरिदिनुभएको छ, अहिले दाबी गर्ने नयाँ उम्मेदवारहरूले ।
त्यसोभए अब युवापुस्ता आउनुपर्छ ? दोस्रो पुस्ता आउनुपर्छ ? शेरबहादुर देउवा र रामचन्द्र पौडेलले उम्मेदवारी दिनुहुन्न भन्ने पक्षमा तपाई हो ?
उमेरले होइन विचारले चुनौतीको सामना गर्ने नेतृत्वको खोजीमा म बच्पनदेखि भएको मान्छे हुँ । तत्कालीन ७४ जिल्लामा एउटा राजा थियो । ७५ जिल्लामा दुईओटा राजा थिए, मेरो मुस्ताङ्ग राजालाई जोडदा । पञ्चायतमा नै राजामय हुँदा पनि म प्रजातन्त्रको लागि विद्यार्थीकालदेखि नै मलाई उमेरभन्दा पनि नयाँ नयाँ विचारको युवा खोज्ने मान्छे भएको हुनाले मलाई स्वभाविक नै लाग्छ । दाबी गरेका कुराहरू नराम्रा होइनन् ।
नेपाल र भारतका प्रधानमन्त्रीबीच हिजो टेलिफोनमा वार्ता भयो, यसलाई कसरी लिनुभएको छ ?
दुईटा प्रधानमन्त्रीको बीचमा संवाद हुनु एउटा कुनै न कुनै अवसर चाहिन्थ्यो, बाहना चाहिन्थ्यो । भारतको ७४औँ स्वतन्त्रता दिवसले दुई मुलुकको सरकार प्रमुखबीच वार्ता गर्ने संवादको ढोका खोलिदियो । यसलाई हामीले अवसरको रूपमा परिवर्तन गर्न सक्नुपर्छ ।