Logo

कोरोना संक्रमित बढेपछि कहाँ कहाँ गरियो शिल ?



साउन ३२, काठमाण्डौ । पछिल्लो समय सरकारको रणनीतिअनुसार स्थानीय तहहरुले कोरोना संक्रमित भेटिएका स्थानलाई शिल गर्ने गरेका छन् । आज मात्रै काठमाण्डौलगायत विभिन्न जिल्ला तथा स्थानीय तहले संक्रमणको जोखिम बढेका स्थानहरु शिल गरेका छन् ।

कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौंको नयाँबानेश्वर, बुधनगर, थापागाउँ, बिजुली बजार क्षेत्र सिल गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयले नयाँबानेश्वर, बुद्धनगरसहित आफ्नो वडा क्षेत्रमा सिल गरेको हो । कोरोना संक्रमण फैलिरहेकाले यस १० नम्बर वडा अन्तर्गत धेरै जनामा कोरोना पोजेटिभ देखिएकाले नागरिकको भीड बढेसँगै जोखिम पनि बढ्ने हुँदा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सिल गरिएको वडा कार्यालयले जनाएको छ । सिल गरिएपछि वडाभित्र कडाई पनि गरिएको छ । भित्रि गल्लीमा खुलेका खाजागरलाई प्रहरीले बन्द गराएको छ भने अटेर गर्नेलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएसँगै जनजीवन प्रभावित भएको छ । भरतपुरमा निषेधाज्ञा जारी भएसँगै उद्योग, कलकारखाना, बजार र यातायात न्यून सञ्चालनमा छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनद्धारा जारी सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । निषेधाज्ञा जारी भएसँगै राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ ।

बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कोारेना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ । आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कपिलवस्तुमा कोरोना संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासनले जारी गरेको लकडाउनको समय ७ दिन थपेको छ । जिल्ला प्रशासनले आइतबाररातीबाट थप भाद्र सात गतेसम्म लकडाउन थप गरेको हो । जिल्लामा समुदाय स्तरमा समेत कोरोना बढ्न थालेपछि संक्रमणको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनले साउन २४ गतेबाट पुर्ण लकडाउन जारी गरेको थियो । प्रशासनले भदौ १ गते वाट बिहान ८ बजेदेखि १० बजेसम्म स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै अत्यावश्यक खाद्यान्न सामग्रीका पसल सञ्चालनको अनुमति दिएको छ ।।



प्रतिक्रिया दिनुहोस्