Logo

जनमैत्री अस्पताललाई जनहितमा किन प्रयोग नगर्ने ? (भिडियोसहित)



साउन ३२, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितहरु दिनप्रतिदिन बढिरहँदा उपचारमा समस्या देखिन थालेको छ । संक्रमितहरु अझै बढ्ने जाने निश्चित भएकाले उपचारका लागि अस्पतालकै अभाव सुरु भइसकेको छ । स्थानीय निकायहरुले उपचारका लागि विभिन्न विकल्प अघि सारेका छन् । तर ठोस योजना बन्न सकेको छैन ।

कोरोना संक्रमित बढ्दै गएपछि कोभिड बिरामीको उपचार गर्न तोकिएका काठमाडौं उपत्यकाका अस्पतालमा अहिले बेडको अभाव भएको छ । यही अवस्थालाई मध्येनजर गर्दै करिब ७ वर्षयता बन्द अवस्थामा रहेको राजधानीको बाजालुस्थित जनमैत्री अस्पताल खुलाउन पहल गरिएको छ ।

जनमैत्री अस्पताल सञ्चालनमा ल्याई कोरोना संक्रमितको सम्भावित जोखिमलाई न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोग गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाण्डौ महानगरपालिकालगायत सबै सम्बन्धित निकायसँग वडा नम्बर १६ ले आग्रह गरेको हो । महानगरपालिकाको तर्फबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले अस्पताल व्यवस्थापनलाई अस्पताल सञ्चालन गर्न आग्रह गरेका हुन् । उक्त अस्पताल सञ्चालनमा आए संक्रमितको उपचारमा ठूलो सहयोग मिल्ने रिजालको दावी छ ।

वडाको आग्रहअनुसार काठमाण्डौ महानगरपालिकाले छलफल अगाडि बढाएको छ । सम्भव भएसम्म जनमैत्री अस्पताललाई कोभिड उपचार अस्पताल बनाउने महानगरका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।

तर अस्पताल संचालकहरुले भने स्थानीय निकायले एकलौटी रुपमा गरेको प्रस्ताव कार्यान्वयन गर्न सहज नभएको बताएका छन् । २०७२ सालदेखि बन्द भएको जनमैत्री अस्पतालको प्रयोगको अवधारण सकारात्मक भए पनि आफूहरुसँग सल्लाह नगरी चालिएको कदम उचित नभएको संचालक उमेश पाण्डे बताउँछन् ।

दिनप्रतिदिन काठमाडौं उपत्यकामा कोभिडका संक्रमित थपिँदै गएपछि अस्पतालमा अहिले बेड पाउन मुस्किल हुने अवस्था रहेको छ । यस्तो अवस्थामा जनप्रतिनिधीले दिएको उचित विकल्पलाई सबै पक्षबीच समन्वय गरेर कार्यान्वयन गर्न सके जनहितमा अस्पतालको प्रयोग हुने थियो कि ?



प्रतिक्रिया दिनुहोस्