Logo

उपत्यका प्रवेश तथा जमघटमा कडाइ



काठमाडौँ, १ भाद्र। उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयबाट जारी आदेशको प्रभावकारी कार्यान्वयन गराउन अनुगमन टोली खटिएको छ । उपत्यकाका तीन वटा जिल्लामा जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, स्वास्थ्यकर्मीको टोली अनुगमनको लागि परिचालन भएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सवारी साधन साधनहरूमा जोर बिजोरको कार्यान्वयन, ठूला मल तथा सपिङ सेन्टर, सैलुन तथा ब्युटीपार्लरहरू खुले नखुलेको हेर्न चारवटा टिमले अनुगमन सुरु गरेको छ । साउन ३० गते प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जारी गरेको आदेशविपरीत हुने कृयाकलाप रोक्न चारवटा अनुगमन समिति परिचालन भएको जानकारी दिनुभयो ।

भट्टले रेष्टुरेन्टहरूले निर्देशन पालना गरे नगरेको, भिडभाडको अवस्था, सामाजिक दुरी कायम भएको नभएको र मास्कको प्रयोग नभएमा कारबाही गर्ने अधिकार प्रदान गरेर चारवटा टिम सकृय भएर लागेको जानकारी दिनुभयो । उहाँले परिचालन भएको टिमले तत्कालै कारवाही गर्न सक्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्णयको परिपालन गर्ने विषयमा मनिटरिङ गर्न र कोरोनाको सङ्क्रमण रोक्नको लागि चारवटा टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो । टोलीमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय ललितपुर तथा घरेलु तथा साना उद्योगका कर्मचारीहरूले चारवटा समूह बनाएर अनुगमन गरिरहेको प्रजिअ भट्टले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको आदेशको कार्यान्वयमा चारवटा टोली भक्तपुर जिल्लाभर परिचालन भएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी दुर्गादत्त ढकालले बताउनुभयो ।

उहाँले टोलीले साउन ३० गतेदेखि कार्य सुरु गरिसकेको बताउनुभयो । कोराना महामारीको जोखिम कम कसरी गर्न सकिन्छ भनेर टोली परिचालन भइसकेको उहाँले बताउनुभयो । टोलीले सामाजिक दूरी कायम गराउन, जोर बिजोरको लागू गराउन, भिडभाडको अवस्थाको बारेमा अनुगमन गर्ने कार्य गरेको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

परिचालन भएको टोलीले दुई दिनमा मास्कको प्रयोग नगर्ने ३३८ जनालाई एक सय रुपियाँ जरिवाना गराएको बताउनुभयो । आदेश अवज्ञा गर्दै जोर(बिजोर नमान्ने ४७ वटा दुई पाग्रे तथा ४६ वटा चार पाग्रे सवारीलाई दिनभर होल्ड गरेर राखिएको ढकालले बताउनुभएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्