Logo

कोरोनाबाट मृत्यु होइन तर कोही आएनन् मलामी



विराटनगर, १ भाद्र । मोरङको विराटनगर महानगरपालिका मा शनिबार राति ९ बजे एक ८७ वर्षीया वृद्धाको मृत्यु भयो। उनी कोरोना भाइरस संक्रमित नभए पनि संक्रमणमा पर्ने डरका कारण कोही मलामी भएनन्। घरबाट शव उठ्ने अवस्था भएन। तब छिमेकी र प्रशासनको समन्वयमा नेपाली सेनाले संक्रमितजस्तो गरी आइतबार साँझ उनको शव व्यवस्थापन गरेको छ।

कोरोना पोजिटिभ देखिएकाको शव मात्रै सेनाले व्यवस्थापन गर्छ। नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइन्छ।ती वृद्धाको परिवारका सदस्य भने संक्रमित छन्। उनका ५६ वर्षीय छोरा गत मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा छन्। ५० वर्षीया बुहारी र २८ वर्षीय नातिको रिपोर्ट पनि पोजिटिभ आएको छ। वृद्धाको भने रिपोर्ट नेगेटिभ देखिएको छ।

स्याहारसुसार गर्ने बुहारी र त्यही घरमा बस्ने नातिमा कोरोना देखिएपछि वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि छरछिमेकी घरमा पसेर शव उठाउन डराएको स्थानीय कुमार धमलाले बताए। ती वृद्धामा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भने देखिएको थियो। उनको मृत्युपछि बुहारी र नाति भने शव रुँघेर बसेका थिए।

उनका छोरामा कोरोना देखिएपछि पारिवारिक नाता सम्बन्धका सदस्यको परीक्षण गर्न बुधबार स्वाब संकलन गरिएको थियो। प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाबाट वृद्धासहित उनकी बुहारी र नातिको रिपोर्ट आइतबार बिहान मात्रै आयो। प्रयोगशालाले पटक(पटक परीक्षण गर्दा पनि वृद्धाको रिपोर्ट भने नेगेटिभ आएको जनाएपछि दाहसंस्कार गर्न परिवारका सदस्य र आफन्तलाई अनुमति दिइयो।

तर, छोरा, बुहारी र नातिलाई नै संक्रमण देखिएका कारण सर्ने त्रासका कारण घरमा छिमेकी र आफन्त प्रवेश नगरेको स्थानीय धमलाको भनाइ छ। मलामी नआएपछि वृद्धाको शव दिनभर घरभित्रको पलङमै लडिरह्यो। घरभित्र नपसे पनि केही स्थानीय बाहिर भेला भएर बसेका थिए।

वडाध्यक्ष विनोद बस्नेतले परिवारका अन्य सदस्य संक्रमित भएका कारण छिमेकी घरमा पसेर शव उठाउन डराएको बताए। ‘संक्रमण सर्ने भन्दै छिमेकीहरु डराउँदा वृद्धाको मलामी जाने कोही पनि भेटिएनन्’, उनले भने, ‘यस्तो पनि अवस्था आउँदो रहेछ।’ कोरोना नदेखिएका कारण घाटमा गर्नुपर्ने दाहसंस्कार हुन नपाएको बस्नेतले बताए। सेनाले लगेर संक्रमितको शवजस्तो व्यवस्थापन गर्नुपर्ने अवस्था आएको उनको भनाइ रहेको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्