Logo

विगतभन्दा यो वर्ष अपराध कम भएको छ : प्रवक्ता कडायत



नेपाल प्रहरीका प्रवक्ता तथा सुचना अधिकृत एसएसपी कुवेर कडायतले आजको मितिसम्म आफ्नो संगठनका दुई सय ४० जनाले कोरोनालाई जितेको र हाल तीन सय ८० जना उपचारार्थ रहेको जानकारी दिएका छन् । र, उपचारार्थमध्ये दुई जना डिआईजी पनि छन् । उपचारार्थ सबैको अवस्था सामान्य रहेको र कुनैपनि समस्या नभएको प्रवक्ता कडायतको भनाई छ । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ कडायतसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोनाको संक्रमणको कुरा गर्दाखेरि अहिलेसम्म तपाईको संगठनका कति जनालाई भयो ?

आजका मितिसम्म उपचारार्थ ३८० जना र निको भएको २४० छन् ।

डि.आई.जीलाई पनि भयो २ जनालाई ?

भएको छ । उपचारार्थ हुनुहुन्छ ।

कस्तो छ अवस्था उहाँहरूको ?

सबैको नर्मल छ । कुनै पनि समस्या छैन ।

सुुरक्षाकर्मीलाई संक्रमण बढ्नुको कारण के हो ? तपाईहरूले अनुसन्धान, समीक्षा गर्नुभएको छ ?

मैले ठ्याक्कै यो कारण भनेर भन्न सक्दिनँ । फ्रन्टलाइनमा काम गर्ने हरेकसँग आमनेसामने हुनसक्छ । त्यसैले यही हो भनेर कारण नै दिन गा¥हो छ ।

मास्क नलगाएका मानिसहरू सडकमा जताततै हिँडिरहेका छन्, तपाईहरूले त्यता किन ध्यान दिनुभएन ?

मास्क नलगाएका २२÷२३ लाख मान्छेहरूलाई कारबाही गरेको छ । सरकारले पनि हरेक रेडियोदेखि लिएर टि.भि. सम्म सञ्चारका माध्यमलाई प्रयोग गरेर चेतनामूलक सन्देश दिएको छ । प्रहरीले पनि चेतनामूलक सन्देश दिनुका साथसाथै कारबाही पनि गरेको छ ।

सभा, सेमिनार, भोजभत्तेर नगर्नुस् भन्ने छ । तर जताततै भईरहेको छ ?

भोजभत्तेर त गर्नै पाइँदैन । हिँडडुल बन्दै भनेर पूर्ण रूपले लकडाउन गरेको छैन । सकेसम्म काम पर्दाबाहेक अनावश्यक मुभमेन्ट नबढाऔँ भन्ने हिसाबले जाने हो । हाम्रो अनुरोध पनि त्यही हो ।

तर पनि भीडभाड त भईरहेको छ । असनको अवस्था कस्तो छ ?

महामारीको लडाँइ अरू अपराध अनुसन्धानको क्रियाकलाप जस्तो होइन यो । यो त संयुक्त लडाँइ हो । यो हरेक व्यक्तिले लड्नुपर्ने लडाँइ हो । त्यसो हुनाले पसलमा घुँइचो नगर्नुहोस् भनेर हामीले भन्ने हो । त्यो भएपछि यसमा डिस्टान्स मेन्टेन गरिदिनुस् भनिदिने हो । स्थानीय निकाय, उद्योग वाणिज्य महासंघ, व्यापार संघ सबैको लडाँइ हो ।

पछिल्लो समयमा नाकाहरूमा तपाईहरूले कडाँइ गर्न सक्नुभएन ? किन ?

नाकाहरूमा पूर्ण कडाँइ छ ।

गाडीहरू गईरहेका छन्, आइरहेका छन्, आवातजावत भईरहेको छ ?

एम्बुलेन्स आउनुप¥यो । जो पास इस्यु भएको छ, त्योबाहेक त अरू आउनै पाउँदैन ।

एम्बुलेन्समा पनि मान्छेहरू बसेर आइरहेका छन् नि ? त्यसमा तपाईहरुको निगरानी छ ?

त्यस्तालाई कारबाही गरिएको छ । मान्छे ओसार्ने एम्बुलेन्स पनि हुनसक्छ ।

सुरक्षाकर्मीको अवस्था कस्तो छ, जम्मा देशैभरिको ?

देशैभरिको नेपाल प्रहरीको सबै दर्जाका प्रहरीहरू उच्च मनोबलका साथ आफ्नो कामहरू अगाडि बढाइरहेका छन् । बाढी/पहिरो र कोरोनाको महामारीमा प्रहरीले आफ्नो सक्रियता देखाइरहेको छ ।

सिन्धुपाल्चोकमा बाढी/पहिरोबाट त्यहाँका जनताले धेरै समस्या भोगिरहेका छन् ? उद्धार हुन सकेन ?

उद्धार भईरहेको छ । त्यो कति सम्भव छ, हर प्रयास भईरहेको छ ।

अझै पनि त्यहाँ २० परिवार बेपत्ता छन् ?

राति ७ बजेसम्म सुरक्षाकर्मीहरूले खोजतलास गरिराखेका छन् । आफ्नो स्रोत जे छ, सबैको प्रयोग गरेर म्यानपावरहरू लागिरहेका छन् ।

तपाईहरूको सरुवा, बढुवा पनि रोकियो होइन ?

सरुवा, बढुवा आफ्नो प्रक्रियामा जाने कुरा हो । यो नियमित प्रक्रिया हो । आफ्नो प्रक्रिया चलिरहन्छ । त्यसले केही असर गर्दैन । अहिले मुभमेन्टको कारणले कहिलेकाही आउन जान कठिनाइ होला भनेर मात्रै हो । त्यसले हाम्रो काम, क्रियाकलापहरूमा खासै असर गर्दैन ।

तरपनि कतिपय सुरक्षाकर्मीहरूले सरुवा, बढुवा भएन भनेर जनगुनासो गरिरहेका छन् ?

त्यो गुनासो सम्बोधन हुन्छ । खासै त्यस्तो ठुलो समस्या आउँदैन ।

अपराधीहरूलाई संरक्षण गरेको कुराहरू पनि आएको छ । नेपाल प्रहरीकै मान्छेहरू अपराधमा संलग्न भएको कुरा पनि आएको छ । त्यतातिर तपाईहरूको ध्यान गएको छ ?

नेपाल प्रहरीको कुनै पनि सदस्य त्यस्तो अपराधमा संलग्न भयो भने त्यो कानुनबमोजिम कारबाही भएको छ । विशुद्ध नेपाल प्रहरी भनेको नागरिकको सेवामा समर्पित संस्था हो ।

अपराधको अवस्था के छ अहिले, लकडाउन, कारोनाको बेलामा ?

अपराध ठ्याम्मै रोकिएको भन्ने त होइन । कुनै आपराधिक क्रियाकलापहरू कुनै ठाउँविशेषमा कम भएका होलान् । कुनै अलिकति बेशी छ । लकडाउनभन्दा अगाडिको विगत २/३ वर्ष अगाडि हेर्दाखेरि यो वर्ष केही कम देखिन्छ ।

त्यसोभए अपराध रोकिएको छ, घटेको छ, ग्राफमा जाँदाखेरि ?

विगत ३/४ वर्षलाई अध्ययन गर्दा यो वर्ष गत आर्थिक वर्षभन्दा अलिकति थोरै कम भएको देखिन्छ । कुनै कुनै स्थितिमा क्लास तलमाथि हुन्छ नै ।

नेपाल प्रहरीले अनुसन्धान गर्दाखेरि आग्रह, पूर्वाग्रहभन्दा त माथि उठ्न प¥यो नि ?

नेपाल प्रहरी सधैँ अनुसन्धान र शान्ति सुरक्षाको क्रियाकलापमा कुनै पनि किसिमको सम्झौता हुँदैन, गर्दैन पनि ।



प्रतिक्रिया दिनुहोस्