Logo

कोरोना कोषमा स्वावलम्बन लघुवित्तको १ करोड ३२ लाख सहयोग



काठमाडौं, १ भदौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप रु १ करोड ३२ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध गराएको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो ।

संस्थाले यस अघि रु.२५ लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । यसैगरी, सात वटै प्रदेशमा रहेका शाखा/उपशाखा कार्यालय मार्फत १५० वटा स्थानीय निकायलाई रु.१० लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो । वित्तीय संस्थाले कोभिड–१९ कारण समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालय मार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तसम्म बाँकी रहेको रकम थप सहयोग स्वरुप कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार कोषमा जम्मा गरेको र उक्त सहयोगले न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग, समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ । वित्तीय संस्थाले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत समय समयमा ग्राहक तथा समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा प्राकृतिक विपद व्यवस्थापका लागि विभिन्न राहत प्याकेजहरु उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्