Logo

लण्डन अस्पतालको डाक्टर हो भनी युवतीलाई ठग्ने विदेशी नागरिक पक्राउ



काठमाडौं, १ भाद्र । अनलाईन ठगी तथा नक्कली मुद्राको कारोवार गरेको अभियोगमा विदेशी नागरिक पक्राउ परेका छन् । अनलाईन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा राहदानी नम्बर एन ११७९७०१ वाहक रिपब्लिका डे एनगोलाका नागरिक ४८ वर्षीय शिल्वा एन्टिओ द कोस्टालाई काठमाडौंबाट शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पीडित युवतीले प्रयोग गर्ने सामाजिक सन्जाल इन्स्टाग्राममा कोस्टाले आफुलाई मार्को अरोन नामले चिनाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर हो, नेपाल आएर तपाईँलाई विवाह गर्छु भनी नयाँ वर्षको अवसरमा हिराको औंठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड समेत पठाएको भन्दै प्रलोभनमा पारी सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउन रकम आवश्यक प¥यो भनेर पटक पटक गरी ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ । शिल्वा एन्टिआलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

कोस्टा बसेको ठमेलस्थित होटलको कोठा तलासी गर्दा नेपाली ३ लाख १५ हजार ७ सय ४५ रुपैयाँ, ९ सय अमेरिकी डलर, एटीएम कार्डहरू, पाउडरको वट्टाहरू, १ थान ल्यापटप, नक्कली जस्तो देखिने १ हजार दरका नेपाली ३ थान नोटहरू तथा विभिन्न देशका मुद्रा, नोट आकारको कालो कागजको बण्डल, विभिन्न केमिकलहरू, टेप, पेपर कटर लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा कोस्टाले शुक्रबार अर्की युवतीबाट पनि ३७ हजार रुपैयाँ नगद ठगी गरेको खुल्न आएको थियो । कोस्टा २०७६ फागुन २४ गते नेपाल आएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

प्रारम्भिक अनुसन्धान पश्चात ठगी र खोटा मुद्रा बनाउन नहुने कसूर समेतमा थप अनुसन्धानको लागि बरामद गरिएका सामानसहित कोस्टालाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाएकोमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्