Logo

छोरासहित उपसभामुख तामाङमा कोरोना सङ्क्रमण पुष्टि



हेटौँडा, २ भाद्र। बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोनो सङ्क्रमण भएको पुष्टि भएको छ । हेटौँडामा गरिएको स्वाब परीक्षणणबाट उपसभामुख तामाङसहित उहाँका नौ वर्षीय छोरामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । साउन १५ गते सङ्घीय राजधानी काठमाडौँ गएका बेला भएका विभिन्न राजनीतिक जमघटहरूका क्रममा कोरोना सङ्क्रमण भएको अनुमान गरिएको उपसभामुख तामाङकी श्रीमान् डिबी तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन १५ गते उपसभामुखसहितको टोली काठमाडौँ पुगी साउन २५ गते मात्रै फर्केको थियो । सो क्रममा गृहजिल्ला नुवाकोटका तीन वटा टोलीसँग भेटघाट र छलफल गरिएको उपसभामुखकी श्रीमान् तामाङले जानकारी दिनुभयो । “भेट गरिएकामध्ये एक जना वडाध्यक्षमा कोरोना पोजिटिभ देखिएपछि शङ्का लागेर हामीले पनि स्वाब परीक्षण गरायौँ”, उपसभामुखकी श्रीमान् तामाङले भन्नुभयो, “चालक, पीएसओसहित छ जनाको परीक्षणमा आमा छोरामा पोजिटिभ देखियो ।”

कोरोना सङ्क्रमणपछि यतिखेर उपसभामुखको परिवार सरकारी निवासमा आराम गरिरहेको छ । चिकित्सकको सल्लाहअनुसार रोग प्रतिरोधी शक्ति बढाउने खानेकुरा र तातोपानीसहित खानपानको व्यवस्थापन गरिएको पारिवारजनले जानकारी दिनुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि चिन्ता व्यक्त गर्दै शुभेच्छुकहरूका सन्देशहरू आइरहेको भन्दै उपसभामुख तामाङले आफू छिट्टै नै निको भएर काममा फर्कने विश्वास दिलाउनुभएको पारिवारिक स्रोतले जानकारी दिएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot