भक्तपुर, २ भाद्र । कोभिड–१९ रोगका सङ्क्रमित समुदायस्तरमै फैलिँदै गएपछि भक्तपुर नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने मुख्य १३ नाकामा कडाइ गरेको छ । नगरपालिकाले आजदेखि भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाका सल्लाघारी–नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी नाकामा कडाइ गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
सबै नाकामा कर्मचारी खटाएर नगर प्रवेश गर्नेहरूको विवरण सङ्कलन गरी आवश्यक निगरानी शुरु गरेको उहाँले जानकारी दिनुभयो । नगरप्रमुख प्रजापतिले संसारका ठूला र शक्तिशाली देशहरू कोरोनाको महामारी नियन्त्रण गर्न असफल भइरहेको विषम परिस्थितिमा नेपालमा महामारी फैलिनु अघि नै समाजलाई जोगाउन सचेतना कार्यक्रम र व्यक्तिगत सुरक्षा अपनाइ यो रोगको सङ्क्रमणबाट जोगिन आवश्यक रहेको बताउनुभयो । भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवां, अर्का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कोरोना सङ्क्रमितको व्यवस्थापनको लागि आवश्यक आइसोलेशन कक्षको जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको अबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।