Logo

फर्किन पाएनन् हजारौँ नेपाली



काठमाडौं, २ भाद्र । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका अधिकांश नेपाली कामदार स्वदेश फर्किन पाएका छैनन्। सरकारले फर्काउन चासो नदेखाउँदा उनीहरू श्रम गन्तव्य मुलुकमै बिचल्लीमा परेका हुन्।

एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा रहेका ४ लाख ७ हजार नेपालीले रोजगारी गुमाएका छन्। साउन ३१ गतेसम्म ५५ हजार जना मात्रै स्वदेश फर्किन पाएका छन्। तीमध्ये २५ प्रतिशत वैदेशिक रोजगारबाहेक अन्य प्रयोजनमा गएका रहेको जनाइएको छ।

सरकारले पछिल्लो समय दैनिक ५ सय जना मात्रै फर्काउने रणनीति लिएको छ। जसअनुसार दैनिक ३ सय जना मात्रै कामदार फर्किन पाउँछन्। बाँकी २ सय कूटनीतिक नियोगतर्फका छन्। जब कि नियमित उडान हुँदा दैनिक १ हजार ५ सयभन्दा बढी फर्किंदै आएका थिए।

आप्रवासी श्रमिकसम्बन्धी अनुसन्धानकर्ता रामेश्वर नेपाल सरकारको यस्तो रणनीतिले कामदार बिचल्लीमा पर्ने बताउँछन्। ‘स्वदेश फर्किन चाहेका कामदार उतै रोकिएका छन्’, नेपाल भन्छन्, ‘सरकारको तयारी हेर्दा कामदार फर्काउन वर्र्षौं लाग्ने देखिन्छ।’ चार्टर्ड उडान संख्या बढाउँदै लैजानुपर्नेमा घटाएर सरकार उल्टो बाटोमा हिँडेको उनको भनाइ छ। ‘यसले कामदारको जीवन र स्वास्थ्य संकट गहिरिँदै जान्छ।’

परराष्ट्र मन्त्रालयले हालै ५ लाख ८७ हजार नेपाली कोभिडबाट प्रभावित भई फर्काउनुपर्ने अवस्थामा रहेको जानकारी दिएको थियो। वैदेशिक रोजगार व्यवसायी संघले कोभिडका कारण ५–६ लाखसम्म कामदार फर्किन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। वैदेशिक रोजगार बोर्डका अनुसार खाडी र मलेसियाबाट मात्रै ४ लाख ७ हजार कामदार स्वदेश फर्किन आतुर छन्। मलेसिया र खाडीमा २ लाख ८० हजार कामदारले रोजगारी गुमाएका छन्। भिसाको म्याद सकिएका र आममाफी पाएका १ लाख २७ हजार जना स्वदेश फर्किन चाहन्छन्।

अनुसन्धानकर्ता नेपालका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीको ठूलो संख्या अलपत्र र जोखिमपूर्ण अवस्थामा छन्। ‘जागिर गुमेर तलब पाएका छैनन्। कतिपयलाई आवासबाट निकालिएको छ’, उनी भन्छन्,

‘कोरोना लक्षण देखिँदा पनि त्यहाँका निकायले व्यवस्थापनमा ध्यान नदिँदा कामदार त्रासमा छन्। समस्या विकराल हुन नदिन सरकारले बेलैमा सोच्नुपर्छ।’

सरकारले जेठ अन्तिम सातादेखि चार्टर्ड उडानमार्फत कामदारकै पैसामा स्वदेश फर्काउने प्रबन्ध मिलाएको छ। साउन ३१ गतेसम्म चार चरणमा ५५ हजार १ सय ४४ जना नेपाली स्वदेश फर्किएका हुन्। यीमध्ये ७५ प्रतिशतभन्दा बढी वैदेशिक रोजगारीमा गएका रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। खाडी र मलेसियाबाट ४३ हजार ४ सय ८ जना फर्किएका छन्। पूर्वसचिव एवं श्रमविज्ञ पूर्णचन्द्र भट्टराई विदेशमा समस्यामा परेका कामदारलाई उडानको संख्या बढाएर तत्काल ल्याउनुपर्ने बताउँछन्।

‘कोभिडका कारण समस्यामा पर्ने र नियमित आउनुपर्नेको संख्या ठूलो हुँदै गएको छ। ती कामदारलाई परीक्षण गराएर र यहाँ क्वारेन्टाइनमा बसाएर मात्रै घर जान दिनुपर्छ’, पूर्वसचिव भट्टराई भन्छन्। सरकारले दूतावासमार्फत यथाशक्य खानपान र बासको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्। यो समाचार आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot