Logo

मनसुनजन्य विपद्का कारण हुने मृत्यु विगत १० वर्षकै उच्च



काठमाडौँ, भाद्र ३ । भनिन्छ कुनै पनि समस्या बाजा बजाएर आउँदैन । मुलुकले यतिखेर त्यस्तै नसोचेको र पूर्वानुमान नगरिएको दोहोरोे विपत्तिको सामना गरिरहेको छ । चीनको एक कुनामा देखिएको कोरोना भाइरसले नेपालमा आएर दुःख देला भन्ने हाम्रो कल्पनामै थिएन तर हामी अहिले त्यो महामारीको प्रत्यक्ष मारमा परेका छौँ ।

यसपालि यो अकल्पनीय कोरोनाको कहरमात्र नभएर हामीलाई विनासकारी विपद्ले पनि दुःख दिएको छ । यो विपत्तिले मानिसको ज्यान लिएसँगै भौतिक र आर्थिक क्षति गराइरहेको छ । कोरोना सङ्क्रमण नियन्त्रण हुनुको साटो झन्भन्दा झन् बढ्दै गएको देखिएको छ । यसबीचमै मनसुनजन्य विपत्तिको अर्को चुनौतीले देशको जनजीवन र भूगोललाई नै थिलथिलो बनाइरहेको छ । हरेक दिनजसोको मनसुनी वर्षा पछिको पहिरो, बाढी र डुबान वस्तीवस्तीमा काल बनेर पसेको छ । त्यसैले पनि अहिले हामीलाई आपतमाथि झन् ठूलो विपत बर्सिरहेको भान भइरहेको छ ।

हरेक दिनजसो पहिरोमाथि पहिरोका दुर्घटना थपिएका छन् । पहिले पहिलेका मनसुनी वषामा हुनेभन्दा बढी नै यसपालि बाढी पहिरोले बस्ती नै सोहोरेका छन् । कोभिड–१९ बाट मृत्युको ग्राफ बढ्दै गर्दा यसपालीको मनसुनजन्य विपद्का कारण पनि मृत्युको ग्राफ विगत १० वर्ष कै उच्च बन्न पुग्यो ।

आइतबारसम्मको विवरणमा कोभिड–१९ का कारण मुलुकमा १०४ जनाको मृत्यु भएको छ भने २६ हजार ६६० जना सङ्क्रमित भएका छन् । मनसुन सक्रिय भएको दिन २०७७ जेठ ३१ पछि मनसुनजन्य विपदमा परेर पछिल्लो दुई महिनामा मात्रै २३१ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट मात्रै २०६ ले ज्यान गुमाए । सँगसँगै आएको यी दुई महाविपत्ति नेपालको इतिहासकै एक अति कठिन समय बन्न पुगेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्