काठमाडौँ, भाद्र ३ । मङ्गलबार दिउँसोदेखि युट्युबमा सार्वजनिक भएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्यको समाचार सामाजिक सञ्जालमा भाइरल भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तत्कालै गलत भएको भन्दै प्रहरीसमक्ष उजुरीसमेत गरे । प्रहरीले तत्कालै सक्रियता देखायो । अपराध महाशाखा काठमाडौँको टोलीले सो गीतको छायाङ्कन गर्ने क्यामेरापर्सनलाई पक्राउ गर्यो ।
नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखा, काठमाडौँका एसएसपी दीपक थापाले गीतको छायाङ्कन गर्ने एक जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । उहाँले प्रहरीको टोली राष्ट्रिय झण्डा जलाउने व्यक्तिहरूको खोजीमा परिचालन भइसकेको थापाले बताउनुभयो । सो गीतको रेकर्डिङमा पाँच सात जनाको समूह रहेकाले प्रहरीले उनीहरूको खोजीमा सक्रिय बनेर लागेको थापाले बताउनुभयो । पक्राउ परेका व्यक्तिको बारेमा थप केही खुलाइएको छैन ।
प्रहरीले भिडियोमा देखिएका थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने एसएसपी थापाले बताउनुभयो । मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे तीन वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । मङ्गोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।