Logo

उडान रद्द गरिँदा आप्रवासी नेपाली मर्कामा



काठमाडौं, भदौ, ३। सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् ।

सरकारले विदेशबाट उद्धार गरेर ल्याउने उडान तत्काल स्थगित गरेको हो ।सरकारले गठन गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबार गरेको निर्णयले सोमबारै संयु्क्त अरब इमिरेट्स (यूएई) बाट नेपाल वायुसेवा निगमको जहाज रित्तै फर्कियो ।

कोरोनाको जोखिम बढ्दै गएपछि गएको चैत पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा हजारौँ नेपाली स्वदेश फर्कन पाएका छैनन् । उनीहरूले सरकारको पछिल्लो निर्णयबाट विदेशमा अलपत्र श्रमिक थप पीडामा भएको भन्दै विरोध गरिरहेका छन् ।

उडान तालिका दुई दिनमै रद्द
सरकारले आइतबारदेखि पाँचौँ चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको थियो तर निर्णय सार्वजनिक भएको दुई दिनमै रद्द भयो । पाँचौँ पटक थप ४३ वटा उडानलाई अनुमति दिइएको थियो ।

यी उडानबाट झण्डै सात हजार नेपाली स्वदेश फर्किन पाउने भनिएको थियो । सोमबार साँझ विदेशबाट ल्याएर राख्न क्वारेन्टाइनको उचित व्यवस्थापन नभएको भन्दै सीसीएमसीले एक्कासि तय भएका उडान रद्द गरेको हो ।

सीसीएमसीले उडान रद्द गरेका विषयमा छलफल भइरहेको र छिट्टै नै उचित निर्णय हुने श्रम, रोजगारतथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अहिले काठमाडौँ उपत्यकामा पनि कोरोनाको जोखिम बढेको र सरकारले विदेशबाट ल्याइएका नेपालीलाई काठमाडौँमै क्वारेन्टाइनमा राखेर कोरोना सङ्क्रमण नभएको प्रमाणित भएपछि मात्रै घर पठाउने निर्णय गरेकाले पनि उडान स्थगित गर्नुपरेको श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot