Logo

कीर्तिपुरमा सेमिलकडाउन



काठमाडौं, भदौ ३ (नागरिक)–कीर्तिपुर नगरपालिकाले तराईका जिल्ला बसोबास गर्ने र २० दिन अघिसम्म तराईका जिल्ला घुम्न गएका स्थानीयको पीसीआर परीक्षण शुरु गरेको छ । नगरपालिकाले रोजगारीको सिलसिलामा कीर्तिपुर भित्रिएकालाई पीसीआर परीक्षण गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि ‘सेमी लकडाउन’ शुरु गरेको नगरपालिकाले २० दिनभित्र सबैको परीक्षण सम्पन्न गर्ने जनाएको छ ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले २० दिनअघि तराई पुगेका र घुम्न गएका स्थानीयको परीक्षण शुरु गरेको जानकारी दिए । नगरपालिकाले सबै स्थानीयलाई सार्वजनिक सूचना जारी गरी पीसीआर परीक्षण गर्न आह्वान गरेको उनले बताए ।

नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सरस्वती रिजाल खड्काले कोभिड कमिटी सीसीएमसीको पहलमा मंगलबारबाट पीसीआर परीक्षण शुरु गरिएको जानकारी दिए।

कीर्तिपुर नगरपालिकाले सोमबारदेखि कीर्तिपुरबाट चल्ने सार्वजनिक यातायात बन्द गरेको छ । नगरपालिकाले सबै सार्वजनिक यातायात भदौ ९ गतेसम्मका लागि सञ्चालन नगर्ने निर्णय गरेको हो ।

औषधि पसलबाहेक अन्य पसल र व्यवसायहरु बिहान ७ देखि ११ बजेसम्म मात्र खुला रहने व्यवस्था गरेको छ । मेयर महर्जनले कीर्तिपुरमा कोरोना महामारीका रुपमा फैलन नदिन सो व्यवस्था गरिएको जानकारी दिए ।

उनले मन्दिर, रेस्टुरेन्टलगायत मनोरञ्जनका सबै स्थल बन्द गरिएको जानकारी दिए । नगरपालिकाले वाघभैरव, विष्णुदेवी, जलविनायक, आदिनाथलगायत सबै मन्दिर बन्द गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot