Logo

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम भन्छन् : ‘जनस्वास्थ्यका मापदण्ड नमान्दा कोरोना संक्रमण ह्वात्तै बढ्यो’



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्यका मापदण्डहरु नमान्दा कोरोना संक्रमण ह्वात्तै बढेको प्रतिक्रिया दिएका छन् । अत्यन्तै जरुरी नभएसम्म घरबाहिर ननिस्किनु भनिएकोमा त्यो पनि पालना नभएको उनले गुनासो पोखे । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता गौतमले कोरोलाई राजनीतिक रुपमा, सरकारको विरुद्धमा विरोध गर्ने कामको रुपमा प्रयोग गरिएको र यसको रिजल्ट आज सबैले भोगिरहेको पनि टिप्पणी गरेका छन् । प्रस्तुत छ डा. गौतमसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोनाको संक्रमण ह्वात्तै बढ्यो । एकै दिनमा १००० भन्दा बढीमा संक्रमण देखियो । किन देखियो ?

यसको कारण तराईका जिल्लाहरूमा जनसंख्या धेरै छ । यहाँ जनस्वास्थ्यका मापदण्डहरू मानिएन । अत्यन्त जरुरी नभएसम्म बाहिर ननिस्कनु भनेको त्यसमा पनि पालना हुन सकेन । २ मिटरको दुरी कायम गर्ने भन्ने कुरा पनि देखिएन । झण्डै २५ देखि ३० प्रतिशतले मास्क पनि नलगाई हिँडेको देखियो । यो कोभिड १९ जुन इन्फेक्सन छ, यसलाई राम्रोसँग बुझिएको देखिएन । हामी सबैको मेहनतको बाबजुत सरकार, मिडियाको प्रयास हुँदाहुँदै पनि मान्छेहरूले यो रोगलाई नबुझेको कारणले अलि हेलचेक््रयाइँको कारणले यो समस्या बढेर गएको छ । हामीले जे कुरा नहोस् भनेर सोचेका थियौँ, आज त्यही भईरहेको छ । हामीले डेढ दुई महिना अघिदेखि नै भन्दै आएका थियौँ कि जुलुस, सभा, भेला नगरौँ । कोरोनालाई राजनीतिको रूपमा, सरकारको विरुद्धमा विरोध गर्ने कामको रूपमा प्रयोग गरियो । यसको रिजल्ट आज हामीले भोगिरहेका छौँ ।

लकडाउन हामीले चाँडै खुल्ला गरेका थियौँ । त्यसले गर्दा संकटमा परेको छ । पूर्वतयारी सरकारले गर्न सकेन नि ?

लकडाउनको बारेमा नेपालीहरूले फरक किसिमले बुझेको मैले अनुभव गरेँ । लकडाउनले इन्फेक्सन नियन्त्रण गर्न सक्दैन । यदि मान्छेहरूले डिस्टान्स कायम गरिदिने हो भने यो लकडाउन खोलेर केही पनि अप्ठ्यारो पर्ने थिएन । सधैँको लागि लकडाउन गर्न सकिँदैन । किनभने कोरोनाको इन्फेक्सनको कारणले मर्ने मान्छेहरूभन्दा भोकमरी, अन्य नन् कोभिड रोगहरूबाट मर्ने हुनाले लकडाउन सधैँको लागि गरिने कुरा होइन । नेपालमा एउटा पनि ल्याब थिएन । पहिलो टेस्ट हामीले हङकङमा नमुना लगेर गरेका थियौँ । आज दिनमा १३ हजार टेस्ट हुन सक्यो । हामीसँग २० देखि २२ हजार टेस्ट गर्ने क्षमता छ । औषधीहरू, एजेन्टहरू, भेन्टिलेटर लगायत अरू सामानहरूको व्यवस्थापनको लागि पहल भयो ।

संक्रमणको कुरा गर्दाखेरि उपत्यकामा आइसोलेसन वार्डहरु पनि पर्याप्त छैनन् । गम्भीर संक्रमितको लागि आई.सी.यु बेड पाउन मुस्किल छ । अब उपचार कहाँ गर्ने ?

हामीसँग अहिले जति संक्रमित हुनुहुन्छ । उहाँहरूको व्यवस्थापन गर्नको लागि अहिले त्यति समस्या छैन । १०औँ लाख मान्छेहरू इन्फेक्टेट भए भने हामीलाई त्यो सेवा दिन जटिल छ । तर अध्ययनहरूले के देखाएको छ भने हामीले उपचार गर्ने भनेको लक्षण देखिएको मान्छेलाई हो । जसलाई लक्षण छ, त्यो मान्छेहरूलाई उपचार गर्नुपर्छ । आई.सी.युमा राख्नुपर्छ, अक्सिजनको व्यवस्थापन गर्नुपर्छ । कसै कसैलाई भेन्टिलेटर पनि चाहिन्छ तर भेन्टिलेटरबाट गरिने उपचार भनेको अमेरिकामा पनि यसबाट उपचार राम्रोसँग भईसक्यो ।

टोल टोलमा जानुभयो भने आजको दिनमा पनि कोरोना संक्रमितलाई छि छि र दुर दुर भईरहेको छ ? अपमान भईरहेको छ ? सरकारले के गर्छ ?

त्यो अपमान गर्नुहुँदैन । सरकार त्यसबारेमा स्वास्थ्य मन्त्रालय यसको बारेमा सचेत छ । धेरैचोटि मान्छेहरूलाई अनुनय, विनय, अनुरोध गरिरहेका छौँ । रोग जसलाई पनि लाग्न सक्छ ।

यो कोरोना संक्रमित घर हो भनेर लेख्न पनि थालिएको छ, बाहिर ?

अपमान गर्नु कानुनी अपराध हो । अपमान नगरौँ ।

निषेधाज्ञा जारी हुँदैछ । यसले मद्दत पुग्छ, कोरोना रोकथाममा ?

मान्छेहरूले सामाजिक दूरी कायम गरेनन्, २ मिटरको दूरी कायम गरेनन्, भीडभाड गरे, यी सबैलाई निमिट्यान्न पार्नका लागि लकडाउन गरिने भएको हो । कोरोनाको संक्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले रोक्ने प्रयास गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्