Logo

कोरोना नियन्त्रण गर्न कतै बन्दाबन्दी, कतै निषेधाज्ञा



कोहलपुर, ४ भाद्र । व्यक्तिले सजगता नअपनाइदिँदा देशभर कोरोना सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या दैनिक बढ्दो क्रममा छ । मुख्यगरी सहरी क्षेत्रका सडकमा मानिसको चहलपहल जथाभावी छ । कुशे औँसीको बहानामा बुधबार सडकमा ओइरिएकाहरूलाई रोक्न स्थानीय प्रशासनलाई निकै हम्मे परेको थियो ।

दैनिक परीक्षण गरिरहने र उत्तिकै सङ्ख्यामा सङ्क्रमित थपिरहने तर नागरिकका तर्फबाट सजगता नअपनाइँदा यो क्रम तत्कालै रोकिने अवस्था देखिँदैन । पछिल्लो समय कडाइका साथ बन्दाबन्दी वा निषेधाज्ञाको उपाय अपनाउन स्थानीय प्रशासन वा पालिकालाई बाध्यात्मक अवस्था सिर्जना हुन पुगेको छ । कानुन उल्लङ्घन गर्नेहरू बढ्न थालेपछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई दिनभरि आफैँ गस्तीमा हिँड्न थाल्नुभएको छ ।

 

मोरङ बढी प्रभावित

कोरोना सङ्क्रमणबाट प्रदेश १ को तराईका झापा, मोरङ र सुनसरी सबैभन्दा बढी प्रभावित छन् र तीमध्ये मोरङलाई गम्भीर स्थलका रूपमा लिइएको छ । मोरङमा कोरोनाका कारण हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या एक हजार १४१ पुगिसकेको छ । गत वैशाख ५ गतेयता हालसम्म दुई हजार २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये मङ्गलबारसम्म एक हजार १३३ जना उपचारपछि घर फर्किसकेका छन् । यस प्रदेशमा हालसम्म ७० हजार १०५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

उपचारका क्रममा प्रदेश १ बाहिरका चार जनाको मृत्यु भएको छ । प्रदेश १ मा सबैभन्दा बढी विराटनगर महानगरपालिका कोभिड–१९ को जोखिममा परेको छ । महानगरमा अहिलेसम्म ६९१ जना सङ्क्रमित पुगिसकेका छन् । यस महानगरपालिकामा हालसम्म ९३ जना ‘डिस्चार्ज’ भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

दिनदिनै बढ्दै

भारतसँगको खुला सीमाका कारण प्रदेश २ मा कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएको छ । यस प्रदेशमा बुधबारसम्म सात हजार ८८३ जना कोरानाबाट सङ्क्रमित छन् । सामाजिक विकास मन्त्रालयका सचिव गोपाल बरालले सबैभन्दा बढी रौतहटमा एक हजार ५०६ जना र सिरहामा सबैभन्दा कम २८० जना सङ्क्रमित रहेको जानकारी दिनुभयो ।

सो मन्त्रालयका वरिष्ठ चिकित्सक डा कमलेशप्रसाद यादवले सङ्क्रमितमध्ये तीन हजार ७९० जना निको भएर घर फर्किसकेको जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रदेशमा कोरोनाले ५० जनाको मृत्यु भइसकेको छ । आठवटै जिल्लामा निषेधाज्ञा जारी गरिए पनि त्यसको पूर्ण पालना भएको छैन । प्रदेशका स्वास्थ्य निर्देशक हरिश्चन्द्र साहले सावधानी नअपनाउँदा सङ्क्रमण फैलिन थालेको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्