Logo

सिरहामा प्रहरी निरीक्षकसहित २४ जना सङ्क्रमित थपिए



सिरहा, भाद्र ४ । सिरहामा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षकसहित २४ जनामा थप सङ्क्रमण भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक जनक पुरी र सो प्रहरी कार्यालयमा कार्यरत दशजना प्रहरी तथा गोलबजारका चारजना सर्वसाधारणमा कोरोना सङ्क्रमण भएको देखिएको छ ।

चार जना सङ्क्रमितहरू भने कन्ट्रयाक्ट ट्रेसिङका आधारमा फेला परेका हुन् । यसअघि पनि मङ्गलबार इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवाल पनि सङ्क्रमित हुनुभएको थियो ।

यसैगरी, सिरहा नगरपालिका–१६ स्थित माडरमा नौ जना, गोलबजारमा १४ जना तथा नरहामा एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सीमा प्रहरी चौकी माडरमा कार्यरत एक जना प्रहरीसहित पाँच जना पुरुष तथा चार जना महिलामा कोरोना सङ्क्रमण देखिएको छ भने नरहाका एक जना क्वारेन्टाइनमा बसेका पनि सङ्क्रमण भएको पुष्टि भएको छ । यससँगै सिरहामा ८७ जना सक्रिय सङ्क्रमितहरू देखिएका छन् जसमध्ये ८० जना समुदायबाट सङ्क्रमित रहेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot