Logo

स्वाब दिएकाबाटै समुदायमा फैलियो कोरोना



भक्तपुर, ४ भाद्र । राजधानीको एक निजी अस्पतालमा कार्यरत भक्तपुर जिल्लावासी एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि जब स्वास्थ्य कार्यालयबाट उनको कन्ट्याक्ट ट्रेसिङको काम गरियो तब कार्यालयका कर्मचारी नै अचम्भित भए।

उनी भक्तपुरबाट सार्वजनिक गाडीबाट अस्पताल पुग्ने रहेछ। फेरि अस्पताल पुग्न नै दुई गाडी फेर्नुपर्ने। जसले गर्दा अस्पताल जाँदा दुई गाडी र घर फर्कँदा थप दुई गाडी। अब स्वास्थ्यका कर्मचारी पर्‍यो फसाद। उनले दैनिक चढ्ने ती चारवटा गाडी कसरी पत्ता लगाउने रु गाडी पत्तै लागे पनि त्यसमा सवार यात्रुलाई कहाँ र कसरी खोज्ने रु

त्यसमाथि ती कर्मचारी कोरोना भाइरस परीक्षणको लागि स्वाब दिँदा पनि होम क्वारेन्टाइनमा बसेनन्। आइसोलेसनमा पनि बसेनन्। स्वास्थ्यका कर्मचारीले स्वाब दिएपछि किन क्वारेन्टाइन वा आइसोलेसनमा नबसेको भनेर सोध्दा उनले अस्पतालले बिदा नै नदिएको जवाफ दिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

‘अस्पतालमा काम गर्ने कर्मचारीकै अवस्था यस्तो छ भने अरु सामान्य नागरिकको कस्तो होला रु’, उनले भने, ‘अस्पतालले नै स्वाब दिएका व्यक्तिलाई काममा लगाइरहन्छ भने अन्यत्रबाट कस्तो अपेक्षा गर्ने उनले यस्तै हेलचेक्र्याईले समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको दाबी गरे।

उनका अनुसार कोरोना परीक्षणका लागि स्वाब दिएका अनिवार्य रुपमा क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्छ तर उनीहरु रिपोर्ट आउँदासमेत यताउता घुमफिर गरिरहेको पाइएको प्रमुख मिजार बताउँछन्। यसले गर्दा कन्ट्याक्ट ट्रेसिङ गर्न असहज स्थिति उत्पन्न भइरहेको उनको भनाइ थियो।

‘स्वाब दिएकाहरु क्वारेन्टाइन वा आइसोलेसनमा नबस्दा समुदायमा कोरोना भाइरस संक्रमण फैलिइरहेको हो’, प्रमुख मिजारले भने, ‘त्यसैले स्वाब दिएकाहरु रिपोर्ट नआएसम्म क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्छ।’ उनका अनुसार रिपोर्ट नेगेटिभ आए सामान्य जीवनयापन गर्न पाइन्छ र पोजिटिभ आए उपचारको लागि लगिनेछ र समुदायमा कोरोना भाइरस फैलिन पाउँदैन।

‘अहिले स्वाब लिएकाहरु नै यताउति हिँडिरहेका छन्’, उनले भने, ‘वास्तवमा स्वाब दिएकाहरु कहींकतै जानुहुँदैन।’ स्वास्थ्य कार्यालयका कर्मचारीहरुका अनुसार कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा पनि संक्रमण बढिरहेको छ। रिपोर्ट आउन जति ढिलो हुन्छ, त्यत्ति नै बढी संक्रमितको सम्पर्कमा आउँछन्।

सामान्यतया रिपोर्ट १२ घन्टामा आउने बताइन्छ तर भक्तपुरमा रिपोर्ट आउनै दुईतीन दिन लाग्ने गरेको कार्यालयले जनाएको छ। रिपोर्ट आएर मन्त्रालयले संक्रमण पुष्टि गरे पनि संक्रमितको विवरण आउनसमेत ढिलाइ हुँदा कन्ट्याक्ट ट्रेसिङमा समेत समस्या हुँदै आएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot