Logo

एक रातको बाढीमा बगे १७ जनाको करोडौं सपना



अछाम, ४ साउन । २२ घरका १७ जनाका करोडौ सपना एकरातको बाढीले बगाएको छ । मंगलवार राति अछामको रामारोशन गाउँपालिकामा आएको बाढीले २२ घरसहित १७ जना बेपत्ता भएका छन् । मंगलवार राति खाना खाएर सुतेका १७ जना निद्राबाट बिउझिन नपाउँदै बेपत्ता हुनुप¥यो । बेपत्ता १७ मध्ये ७ जना बुधवार मृत अवस्थामा भटिए ।

भौगोलिक विकटताले सदरमुकामदेखि टाढा रहेको रामारोशन गाउँपालिकाले यो वर्ष बाढीबाट करोडौंको क्षतिका साथै ठूलो संख्यामा मानवीय क्षति बेहोर्नुप¥यो । सैनिबजारमा होटेल व्यवसाय गरी बसोबास गर्ने नन्दसिंह साउदको सात जनाको परिवार पूरै बगेको छ । नन्दसिंह साउदसहित पत्नी गंगा, छोरी कविता बुढा साउद, छोरा नवीन, रुपेश, नातिनी प्राप्ति र बीमा तथा बुहारी जोगालाई बाढीले बगाएको छ ।

नन्दसिंह साउदको हजारौ सपनासहितको परिवार मंगलवारको बाढीले एकरातमै बगाएको छ । नन्दसिंह साउदको होटलमा बसेका अरु दुई पाहुनासमेत बगेको बुझिएको छ । जसमध्ये नवीनको शव भेटिएको छ । यस्तै सैनीबजारका सुनचाँदी व्यवसायी मीनबहादुर सुनारका छोरालाई निद्रा नपर्दा मीनबहादुरको परिवार जोगियो ।

मीनबहादुर सुनार बेलुकीको खाना खाएर सुतिसकेका थिए । रातिको करिब साढे १० बजेको थियो । त्यो दिन मीनबहादुरको ६ जनाको परिवार त्यहीं थियो । ५ जना सुतिसकेका थिए । एउटा छोरा भने नसुतेर मोबाइल चलाएर बसेका थिए । उनै छोरा नसुतेका कारणले मीनबहादुरको ६ जनाको परिवारको ज्यान जोगिएको छ ।

बाढीले रामारोशन गाउँपालिका–५ सैनीबजारसँगै मीनबहादुरको सुन पसल पनि बगेको छ । छिमेकी धनादेवी साउदको होटलमा पानी पसेको हल्ला मीनबहादुरको छोराले सुनेपछि सुतिरहेका सबैलाई हतारहतार उठाए । ‘हामी सबै सुतिसकेका थियौँ, छिमेकीको पसलमा पानी पसेपछि भएको हल्ला सुनेर छोरो करायो’, मीनबहादुरले भन्नुभयो– ‘हत्तपत्त ब्युँझिँदा त आफ्नो पसलमा पनि दुई फिट जति पानी पुगिसकेको थियो । हल्लाखल्ला सुन्नासाथै सबै भागेर ज्यान जोगायौँ ।’ यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्