Logo

‘मर्निङ वाक’ मा निस्कने सोच बनाउनुभएको छ ? यस्तो छ सजायको व्यवस्था



काठमाडौं, भदौ ४।काठमाडौं उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो गर्नुभयो भने तपाईँ कारवाहीमा पर्न सक्नुहुन्छ ।

बुधबार रातिदेखि लागु भएको निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा खुबै कडाई गर्ने छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, “मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने सोचेर ननिस्किनुहोस्, सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुन्छ ।”

उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि बनदाबन्दीमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन । कुनै सवारी पाससमेत जारी गरिने छैन । त्यसैले बन्दाबन्दी भन्दा आज राति १२ः०० बजेदेखि लागु हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।

यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यसपटक दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा श्ययाको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए । आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।

उपत्यकाका तीन जिल्लाका प्रजिअको मंगलबारको बैठकले आज रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको छ । राति १२ः०० बजेदेखि अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ । जारी आदेश यही भदौ १० गतेसम्म लागू हुने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot