Logo

पुनः तयार गर्न सांसदको लोगो फिर्ता



काठमाडौं, भदौ ४ । नयाँ नक्सासहित संघीय संसद् सचिवालयले सांसदका लागि तयार पारेको लोगोमा समेटिएको नेपालको नक्सा विरोधपछि संशोधनका लागि फिर्ता पठाइएको छ ।

नयाँ निर्माण गरिएको गोलो नसुहाउने र जथाभावी बनाइएको भन्दै सांसददेखि सबैतिरबाट विरोध भएपछि संसद् सचिवालयले वाग्मती प्रदेश सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरलाई पुनः तयार गर्न फिर्ता पठाएको हो ।

सचिवालयले संघीय संसद्का पदाधिकारी र सदस्यले लगाउने संघीय संसद्को लोगो ३ सय ५० थान तयार गर्न असार २१ गते सो कार्यालयलाई जिम्मा दिएको थियो ।

लोगो तयार भएपछि आइतबार संघीय संसद्का महासचिव डा भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका थिए ।

सांसदलाई एसएमएस पठाएर लिन आउन भनिएको थियो । लोगो भद्दा भएकाले सांसदले लगाउन नमानेपछि संसद् सचिवालयले लोगो स्तरीय र निर्धारित मापदण्डअनुसार निर्माण गर्न पुनः फिर्ता पठाएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot