समाचार विश्लेषण । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कमजोर राजनीतिक अवस्था र हराएको साहस देखेर उनकै निकटस्थहरु छक्क पर्न थालेका छन् । कतिपयले के यीनै प्रचण्ड हुन् ? सम्म भन्न थालेका छन् । जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहने र कुनै न कुनै राजनीतिक अस्त्र फालेर हलचल ल्याउने प्रचण्ड अहिले पुरै शिथिल र डरपोक जस्ता लाग्न थालेका छन् । उनीसँग न कुनै बलियो राजनीतिक एजेन्डा देखिन्छ न कुनै बलियो अस्त्र । उनमा छटपटाहट र हतास मनस्थिति देखिन्छ । त्यसैले उनका अडान फितलो सावित हुनेथालेको छ ।
प्रचण्ड किन यसरी निरिह देखिन थाले ? यसमा उनको कुनै वाध्यता हो या रणनीतिक चार्तुयता ? ढाँडमा टेकेर दुश्मनको टाउकोमा हान्ने रणनीतिका प्रचण्डले पछिल्लो समय न त कसैको ढाडमा टेक्न सकेका छन् न त विरोधीलाई गलाउन या थकाउन नै सकेका छन् । बरु उनी आफै निरन्तर गल्ने र थाक्ने क्रम चलि नै रहेको छ । प्रचण्डले जे सोचेर पार्टी एकता गरेका थिए त्यो अनुसार नभएको बोलि नै सकेका छन् । एकताको डोरी प्रचण्डको हिम्मत र शक्तिलाई बाँध्ने औजार बनेको छ । उनी कतिपय अवस्थामा चलमल गर्न नसक्ने भइसकेका छन् । उनका कतिपय प्रयासहरु विफल भएका छन् ।
प्रचण्डले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दुईपटक राजीनामा मागे । दुई महिनाको अन्तरमा दुईपटक राजीनामा मागेपनि ओलीलाई गलाउन सकेनन् । बरु उल्टै आफै गल्न पुगे । यसअघि आधा आधा प्रधानमन्त्री बन्ने सहमति भएको खुलाएका उनले केही सौदावाजीमा पछि हटे । त्यो च्याप्टर बन्द भएको घोषणा गरे । दुई पटक प्रधामन्त्री बनेका प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्न अझै साँढे दुई वर्ष कुर्नुपर्ने वाध्यात्मक अवस्थामा पुगेका छन् । कुनै आश्चर्यजनक घटना घटेमा बाहेक प्रचण्डका लागि सत्ता अब टाढिदै गइरहेको देखिन्छ ।
प्रचण्डले अब ओली पुरै कार्यकाल प्रधानमन्त्री रहने आशयमा अभिव्यक्ति दिइसकेका छन् । राजीनामा मागेका प्रचण्ड यसरी गलेका छन् । यसलाई कतिपय राजनीतिमा धैर्यता कारण मानेका छन् । वाध्यतालाई धैर्यताको नाम दिएर कमजोरी लुकाउने राजनीतिक परिपाठी नभएको होइन । प्रचण्ड यही वाध्यताको बन्दी बन्दै गएका छन् ।
प्रचण्डले ओलीलाई सत्ताबाट हटाउन गरेको प्रयास विफल भएपछि जनयुद्धको युद्ध रणनीतिबारे सुनाए । दुश्मनलाई जित्दा मात्तिने र हार्दा आत्तिने प्रसंग समेत औल्याउँदै फेरि तयारी गरेर जित्ने गरेको सुनाए । ‘जनयुद्धका बेलामा एक दुईवटा मोर्चाहरु हारे पनि प्रायः लडाईँको ठूलो मोर्चा जितियो भने अब युद्धि जितियो भन्ने हुन्थ्यो र दुश्मनले घेरा हाल्छ भन्ने कुराप्रति ध्यान कम जान्थ्यो । र उसले घेरा हालेर सरप्राइज्ड एट्याक गर्दा हामीले क्षति व्यहोर्नुपथ्र्यो । एक दुईवटा क्षति व्यहोरिसकेपछि फेरि हामी राम्रो तयारी गर्ने, राम्रो तालिम लिने, राम्रो रेकी गर्ने, राम्रो हातहतियार व्यवस्था गर्ने रणनीति कार्यनीति बनाउँथ्यौं र जित्थ्यौं,’ प्रचण्डले दुई हप्ता अघि आफू पक्षधर नेताहरुको भेलामा आयोजित ब्रिफिङमा दिएको अभिव्यक्ति हो यो । के प्रचण्ड घेरा तोड्न नयाँ रणनीतिका साथ त प्रस्तुत भएका होइनन् । कि चाहिं उनको रणनीति विफल भइसकेको छ ।
प्रचण्डले अब एकता महाधिवेशनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने विषय उठाएका छन् । उनले महाधिवेशनको विषय उठाएपनि संगठित कार्यकर्ताको बल भएको पूर्व एमाले नेताहरुबाट नेकपाको बागडोर प्राप्त गर्ने सम्भावना कमजोर छ । त्यसमाथि ओलीले जनताको बहुदलीय जनवाद मान्न प्रस्ताव गरेको विषय बाहिर आइसकेको छ । प्रचण्डपथ अगाडि सारेर देशलाई नै नयाँ युगमा लाने परिस्थित बनाएका प्रचण्डले अब मदन भण्डारीले प्रतिपादन गरेको जबजमा आफूलाई समर्पित गर्लान् भन्नेमा कमैलाई विश्वास छ ।
महाधिवेशनमा चुनाव प्रक्रियाबाट अगाडि बढेमा प्रचण्ड अध्यक्ष बन्ने सम्भावना कमजोर हुन्छ । नेकपाभित्र संगठित सदस्य महत्वपूर्ण हुन्छन् । एक सय संगठित सदस्य बराबर एकजना महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । केन्द्रीय कमिटी सदस्य देखि अध्यक्षलगायत पदमा समेत सिधै मतदान गर्न पाउने प्रतिनिधि चयनमा पूर्व माओवादीको संख्या कमजोर हुनसक्छ । त्यो यथार्थबारे प्रचण्ड जानकार होलान् ।
नेकपाभित्र यथास्थितिमा मतदान प्रक्रियाबाट प्रचण्डले अध्यक्ष बन्न सक्ने सम्भावना निकै कमजोर छ । त्यसैले महाधिवेशनले उनलाई अझै कमजोर बनाइदिने सम्भावना बन्न सक्छ । नेपालको राजनीतिमा १५ वर्षयता केन्द्रबिन्दुमा रहेका प्रचण्डको यो अवस्था उनको वाध्यता हो या रणनीतिक चार्तुयतासहितको ‘गुरिल्ला युद्ध’ को तौरतरिका हो हेर्न बाँकी नै छ । तर, सतहबाट र केही गहिराईमा पुगेर हेर्दा प्रचण्ड ‘खोरमा थुनिएका सिंह’ भएका छन् । ‘खोरमा थुनिएको सिंह’ को हालतमा पुगेका प्रचण्डले कस्तो चार्तुयता देखाउने हुन् ? अबको दुई वर्षभित्रको राजनीतिक घटनाक्रमले देखाउने नै छ ।