काठमाडौं, ५ भाद्र । सरकारले निषेधाज्ञा अझ कडा गर्ने नीति लिएपछि काठमाडौं उपत्यका सुनसान भएको छ । उपत्यकाको शहरी क्षेत्रमा अत्यावश्यक बाहेकको सवारी साधन सञ्चालन भएको छैन । मानिसहरुको आवतजावत पनि निकै कम छ ।
सरकारले विना काम सडकमा देखिनेलाई कारबाही गर्ने नीति लिएपछि आवागमन ठप्पप्रायः भएको हो । सवारी साधन पनि विरलै देखिएका छन् ।
उपत्यकामा अत्यावश्यक सेवाका पसलहरु विहान मात्र खुलेका छन् । मानिसहरु घर घरमै छन् ।
कोरोना भाइरसको रोकथामका लागि सरकारले कडा नीति लिएको छ । निषेधाज्ञाले तीजको रौनक देखिएको छैन । मानिसहरु घर घरमै र सिमित समुदायमा मात्र तीज मनाइरहेका छन् ।
सरकारले ४ भाद्रबाट १० भाद्रसम्म उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । उपत्यकामा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि निषेधाज्ञा जारी गरेको हो ।-Photo: Mukunda Kalikote