Logo

निषेधाज्ञा प्रभावकारी भएको छ, आदेश उल्लंघन गर्नेलाई कारबाही गर्छौं : सिडिओ जोशी



ललितपुरका सिडिओ प्रेमराज जोशीले काठमाडौं उपत्यकामा निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन भएको स्पष्ट पारेका छन् । उनले प्रशासनले अनावश्यक रुपमा मानिसहरुलाई नहिँड्नको लागि आग्रह गरिरहेको र आफूहरुको आदेश धेरै प्रभावकारी भएको पनि विश्वास दिलाए । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेको आदेश ७ दिनको लागि मात्रै भएकोले धेरै लामोसयम्म निषेधाज्ञा गर्ने पक्षमा आफूहरु नभएको जिकिर गरे । तर, निषेधाज्ञा लम्ब्याउनुपर्ने अवस्था आए यसबाट प्रभावित हुने दैनिक ज्यालादारी र मजदुरी गर्नेहरुलाई राहत दिईने पनि उनको विश्वास छ । प्रस्तुत छ सिडिओ जोशीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

काठमाडौं उपत्यकामा निषेधाज्ञा प्रभावकारीता देखिएन, मान्छेहरू अझै बाहिर हिँड्दैछन् ? तपाईहरु के हेरेर बस्नुभएको छ ?

मान्छेहरूलाई नहिँड्न भनेर अनुरोध गरेका छौँ । आदेशले पनि त्यही अनुरोध गरेको छ । धेरै प्रभावकारी भएको लागिरहेको छ ।

तर गाडीहरू गुडिरहेका छन् ?

गाडीहरू अत्यावश्यक कामका लागि हिँड्न पाउने व्यवस्था पनि भएको हिसाबले ती गाडीहरू गुडेका छन् ।

हिजो तपाईहरूले काठमाडौँ उपत्यकामा २९०० सवारी साधनलाई होल्डमा राख्नुभएको छ ? धेरै हिँडे नि त गाडी ?

अटेर गर्नेहरूलाई होल्डमा राख्ने, कतिलाई कारबाही गर्ने, कसैलाई सम्झाइ बुझाई गरेर सचेत गराएर पठाउने काम भएको छ ।

तपाईहरूले कडाई गरिरहनुभएको छ । अब तीज कसरी मनाउँछन् त नेपाली महिलाहरूले ?

त्यहाँ हामीले चाडपर्वको बारेमा पनि कुरा गरेका छौँ । घरमै बसेर आफुले पनि संक्रमण नसार्ने गरी परिवारको बीचमा राम्रो ढंगले मनाउँदा हुन्छ ।

त्यसोभए घरमै मनाउने ? नारीहरू मन्दिरमा जान पाउनुहुन्न, अब ?

यो वर्ष परिस्थिति त्यस्तै परेको छ । त्यसकारण घरमा नै मनाउने, खाने, नाचगान गर्ने सबै नियमलाई पालना गरेर सुरक्षित ढंगबाट घरमा नै पूजाआजा गर्दा हुन्छ ।

तपाईहरूले आग्रह गर्नुभएको छ, यो राम्रो हो । यदि नारीहरूले घरमा नै तीज मनाएनन् भने निषेधाज्ञा त्यहाँ तोडियो भने के हुन्छ ?

मलाई त्यो हुन्छ भन्ने विश्वास नै छैन । नारीहरू आँफैंमा संवेदनशील हुनुहुन्छ । पर्व भनेको अर्कै खालको सूचक पनि हो । त्यसकारणले तीज मानेर सहिष्णु हुने कुरामा उहाँहरूले हेलचेक््रयाइँ गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । सबैले घरमा नै मनाउने गरी तयारी गर्नुभएको छ भन्ने हामीले जानकारी पाएका छौँ । त्यहाँ कुनै खालको नमान्ने, नटेर्ने गर्नुहुन्छ जस्तो मलाई लाग्दैन ।

अहिले निषेधाज्ञा जारी भएको छ, तरपनि कोरोना संक्रमण बढिरहेको छ, तपाईहरु संक्रमण रोक्न सक्नुहुन्छ, ?

सबैले अनुशासन पालना गर्नुभयो भने र मलाई प्राविधिक कुरा धेरै त थाहा छैन, तैपनि विज्ञहरूको कुरा सुन्दा, विभिन्न खाले अरू सामाजिक सञ्जालको सूचना अनुसार सामाजिक दूरी कायम गरेर बसियो भने, एकले अर्कालाई नसार्ने स्थिति बनाइयो भने रोगलाई नियन्त्रण गर्न सकिन्छ भन्ने विश्वास छ । अहिले हामीले गरेको प्रयत्न पनि त्यही हो ।

मजदुरहरूलाई समस्या होला नि ?

मजदुरहरूलाई अहिलेसम्म समस्या भएको त्यस्तो सूचना कहीँबाट आएको छैन ।

रोजगारी त खोस्नुभयो तपाईहरूले ? उहाँहरूले काम गर्न पाउनुहुन्न, निषेधाज्ञाको बेलामा ?

त्यस्तो समस्या आयो भने सरकार, स्थानीय तह छन् । समन्वयात्मक हिसाबले उहाँहरूको समस्याको समाधान गर्ने सहजीकरण पनि छँदैछन् ।

ज्यालादारी गर्ने मजदुरहरूले के खाने ?

धेरै लामो समयको लागि हामी निषेधाज्ञा गर्दैनौँ । ७ दिनसम्मको लागि हो । त्यस्तो समस्यामा पर्नुभएकाहरूलाई विगतमा पनि त विभिन्न ढंगले सम्बोधन गरिएकै हो । समस्यामा परेकाहरूलाई फेरि पनि सहजीकरण गर्ने स्थिति बन्छ ।

तपाईले ७ दिन भनिरहनुभएको छ । १ महिना पनि हुनसक्छ निषेधाज्ञा ? के गर्नुहुन्छ ?

अहिलेको आदेश ७ दिनको लागि मात्र हो । लम्ब्याउनुपर्ने परिस्थिति आयो भने छलफल गरेर कसलाई अप्ठ्यारो परेको छ, कहाँ सहयोग, सम्बोधन गर्नुपर्ने छ, ती स्थितिहरूको पहिचान गरेर सम्बोधन गरिन्छ ।

त्यसोभए नाकामा अब कडाई भएको छ ?

हो, नाकामा पनि कडाई भएको छ ।

काठमाडौँ बाहिरबाट मान्छे आउन पाउँदैनन् ?

अत्यावश्यक काम नभएसम्म आउन पाइएन ।

तर आइरहेका छन्, लुकीछिपी ?

त्यसलाई पनि हामीले नियन्त्रण गरेका छौँ । पैदल यात्राबाट आउने चेकप्वाइन्टमा आवतजावतमा नियन्त्रण गर्ने भन्ने हिसाबले योजना बनाएका छौँ । त्यसरी कार्यान्वयन गरेका छौँ ।

त्यसो भए तपाईहरूले सुरक्षाकर्मीहरूलाई परिचालन गरिरहनुभएको छ ?

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा परिचालन गरेका छौँ । चेकप्वाइन्छ, गस्तीहरू खडा गरेका छौँ ।

कति हजार सुरक्षाकर्मी परिचालन गर्नुभएको छ, यसपटक काठमाडौँ उपत्यकामा ?

ठुलो संख्यामा छ । सुरक्षाकर्मी आवश्यकतानुसार हुन्छ । यति छन् भनेर भन्दा पनि पर्याप्त मात्रामा सहजीकरण, अनुगमन गर्न सुरक्षाकर्मीहरू हामीले परिचालन गरेका छौँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot