Logo

विश्वलाई महामारीबाट जोगाउने अमृत बन्लान् त यी कोरोनाविरुद्धका भ्याक्सिन



प्रभात सिंहः रुसले विकास गरी दर्ता गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ अबको हप्ता जनसमुदायमा प्रयोग हुँदैछ । एकैपटक ४० हजार मानिसमा यसको प्रयोग हुँदा अन्तर्राष्ट्रिय रिसर्चसम्बन्धी निकायको समेत नियाल्नेछन् । भ्याक्सिन रुसमा मात्र नभई मेक्सिको र फिलिपिन्स जस्ता देशहरुमा समेत पठाइने भएको छ ।

विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहँदा रुसले निर्माण गरेको भ्याक्सिनको जनसमुदायमा एकैपटक गरिने प्रयोग सफल भएमा मानव जगतकै लागि अमृत सावित हुनसक्छ । मानव अस्तित्वमा आउन लागेको संकटसँग जुध्न कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा रुसका अलावा अमेरिका, युरोप, चीन, भारतलगायतका रिसर्चसम्बन्धी संस्था र औषधी कम्पनिहरु सक्रिय भइरहेका छन् ।

रुसको गोमिलियाले ११ अगष्टमा कोरोना भ्याक्सिनको दर्ताको अवसर पाएको थियो । तर, विश्व स्वास्थ्य संगठनलगायत संस्थाले यसलाई अनुमोदन गर्न बाँकी छ ।

रुसका अलावा अन्य देशका कम्पनि पनि कोरोना भ्याक्सिनको विकासको दौडमा छन् । अहिलेसम्म विश्वका पाँच कम्पनि अगाडि छन् । उनीहरु तेस्रो चरणको क्लिनिकल परीक्षणमा प्रवेश गरेका छन् । जसमध्ये सबैभन्दा अग्रपंक्तिमा रहेका खोप निमार्तामा रुसको गामेलिया, युरोपको अक्सफोर्ड आस्ट्राजेनेका, अमेरिकाको मोर्डना र पिफिजर छन् । उनीहरुले प्रति महिना दशौं लाख डज उत्पादन गर्ने तयारी गरेका छन् । यी खोपहरु सफल भएमा विश्व महामारीबाट चाँडै मुक्त हुनसक्छ । यसै वर्षभित्र कोभिड १९ खोप ल्याउने तयारी भइरहेपनि विश्वसनीयता र प्रभावकारिताको विषय उत्तिकै महत्वपूर्ण छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो सुचीमा १६५ थरीका भ्याक्सिन विश्वभर विकासका क्रममा छन् । त्योभन्दा बढी पनि हुनसक्ने तर सबै प्रारम्भिक चरणमा छन् । २३ थरी भ्याक्सिन क्लिनिकल परीक्षणको क्रममा छन् । अरबौं डलर लगानी भइरहेको छ । वैज्ञानिकहरु अहोरात्र खटिएका छन् ।

यसैगरी, भारतमा सन् २०२० को अन्तसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन भई प्रयोग हुने भएको छ । यसै वर्षको डिसेम्बरभित्र भारतीय जनताले भ्याक्सिन लगाउन पाउने भएका छन् । भारतभित्र नै उत्पादित र बाह्य मुलुकमा पत्ता लागेका भ्याक्सिनहरु पनि प्रयोगमा आउनसक्ने बुझिएको छ ।

पुणेस्थित सेरम इन्स्टिच्युट भारतभित्र भ्याक्सिन विकास गर्ने पहिलो कम्पनि हुने जनाइएको छ । सेरमले बेलायतको एस्ट्राजेनेकासँग मिलेर अक्सफोर्ड भ्याक्सिन विकास गरिरहेको छ । सेरमले दोस्रो र तेस्रो चरणको भ्याक्सिनको मानव परीक्षणशुरु गरिरहेको छ । १८ वर्ष माथिका १६ सय मानिसहरुमा भ्याक्सिनको परीक्षण शुरु गरिएको छ ।

भारतमा अन्य भ्याक्सिनको पनि विकास भइरहेको छ । भारत बायोटेक कोभ्याक्सिन र जिडस क्याडिलाजको जिकोभ डिको पहिलो र दोस्रो चरणको परीक्षण चलिरहेको छ । ती कम्पनिहरुले एक हजार देखि ११ सय मानिसमाथि परीक्षण गरिरहेका छन् ।

अक्सफोर्ड भ्याक्सिनको दोस्रो चरणको परीक्षण बेलायतमा सकिएको छ । यसले सकारात्मक नतिजा दिएको बुझिएको छ ।

भ्याक्सिन जतिसक्दा चाँडो बनोस् भन्ने संसारकै चाहना छ । त्यसका लागि रिसर्चरहरुले तपस्या गरिरहेका छन् । धनाढ्यहरु ठुलो लगानी गरिरहेछन् । यो विश्वकै लागि संकटको बेला हो जसबाट पार पाउन कोरोना भाइरसको औषधी वा भ्याक्सिन जतिसक्दो छिटो तयार हुनुपर्ने हुन्छ ।- एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्