शोभा पाठकः आज हरितालिका तीज । हिन्दु महिलाहरु विशेषगरी नेपालमा यसलाई महिलाहरुले महान् पर्वका रुपमा मनाउने गर्छन् । महिलाका लागि मात्र विशेष पर्वका रुपमा यसको महत्व भएपनि पुरुषहरुको सुस्वास्थ्य र दीर्घायुको समेत कामना गर्छन् । झट्ट हेर्दा यो पर्व महिलाले पुरुषका लागि कामना गर्दै मनाएको देखिन्छ । तर, यसबाट महिलाको महानता पनि प्रकट हुन्छ । महिला लैङ्गिक रुपमा पूर्वाग्रही र स्वार्थी हुँदैनन् भन्ने उदाहरण हो यो । आफूले बस्ने ब्रत, पूजा र आराधनाबाट प्राप्त फल पुरुषसँग पनि बाँड्ने महिलाको अभिप्राय देखिन्छ । नेपाली महिलाहरु आफू केन्द्रित नभई आफ्नो परिवार र समाजका लागि पनि सधै केन्द्रित भइरहन्छन् ।
आधा आकाश ढाकेका नेपाली महिलाहरु धार्मिक रुपमा पनि पुरुषको पनि हितचिन्तक देखिन्छन् । तर, के पुरुषले महिलाका लागि यो हदको उदारता र सकारात्मक भावना देखाउँछन् ? यो यक्ष प्रश्न हो । देशको समग्र अर्थतन्त्र देखि सामाजिक क्षेत्रमा आधाभन्दा बढी योगदान पुर्याउने महिलालाई घर, समाज र राष्ट्रको नेतृत्वका लागि अभिप्रेरित गर्ने र सहयोग गर्ने गरिरहेको देखिदैनन् । पुरुषमा यो हदको पूर्वाग्रह र महिलाको शक्तिलाई नदरअन्दाज गर्ने स्वभाव छँदैछ । त्यसमाथि पनि नेपाली पुरुषहरुमा त्यो जरो बनेर गडिएको छ ।
आज तीजको अवसरमा हरेक पुरुष नेताहरुले बुझ्नुपर्छ कि महिलाहरु कति उदार छन् र पुरुषका लागि कतिसम्म हितचिन्तक बनेर संस्कारको अभ्यास गरिरहेका छन् । के तिनले ती महिलामाथि साँच्चै न्याय गरेका छन् ? महिलाको प्रगतिमा सहायक बनिरहेका छन् ? महिलालाई अगाडि बढ्न सघाइरहेका छन् ? यो प्रश्नको उत्तर हरेक पुरुषले दिनैपर्छ ।
राजनीतिक नेतृत्व तहमा नेपाली महिलाहरु नपुगेका होइनन् । विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुन्छ । सुजाता कोइराला उपप्रधानमन्त्री भइसक्नुभएको छ । शैलजा आचार्य र साहना प्रधान पनि उपप्रधानमन्त्री हुनुभयो । तर, उहाँहरु कुनै पुरुष या परिवारको विरासतको कारणले हुनुभयो भन्नेहरु पनि छन् । उहाँहरुले राजनीतिमा दिनुभएको योगदानको यसरी अवमूल्यन गर्ने गरिएको छ । यो पुरुषप्रधान सोचको उपज हो । शैलजा र साहना त राजनीतिक जीवनको उत्तराद्र्धमा अपहेलित जस्तै हुनुभयो । नेपालको महिला आन्दोलनमा उहाँहरुले पुर्याउनुभएको योगदानको अवमूल्यनको मूल्य नेपालको महिला आन्दोलनले चुकाइरहेको छ ।
सुशीला कार्की प्रधानन्यायाधीश भएर कुशल नेतृत्व गर्नुभयो । उहाँ अझै लोकप्रीय हुनुहुन्छ । चित्रलेखा यादवले उपसभामुख बनेर जनआन्दोलनमा आफ्नो नेतृत्वको खुशी देखाउनुभयो । सुजाता कोइराला परराष्ट्रमन्त्री बनेर क्षमता प्रदर्शन गर्नुभयो । तर, महिला देशको प्रधानमन्त्री बन्न अझै सकिरहनुभएको छैन । महिलाले प्रधानमन्त्री बनेर देश हाँक्न सक्छन् भन्ने विश्वका धेरै उदाहरणहरु छन् । तर, नेपालमा पित्तृसत्तात्मक सोच र महिलाको क्षमतामा प्रश्न गर्ने परिपाठीले यसमा अवरोध सृजना गरिरेको छ । महिलामा पनि आत्मबल र आपसी एकताको खाँचो छ ।
देश हाँक्न सक्ने धेरै महिलाहरु नेपालमा हुनुहुन्छ । कतिपय उदीयमान महिलाहरु पनि हुनुहुन्छ । सुजाता कोइराला, डा. आरजु देउवा, अष्टलक्ष्मी शाक्य, पम्फा भुषालका अलावा नयाँ पुस्ताका रामकुमारी झाँक्री जस्ता जुझारु नेताहरु हुनुहुन्छ । उहाँहरुसँग सम्भावना धेरै छ । देशलाई नेतृत्व दिएर महिलाको क्षमता प्रमाणित गर्ने सामथ्र्य पनि छ । राजनीतिमा संघर्षको पहाड नाघेर अगाडि बढेका महिलाहरुले यो देश हाँक्न सक्छन् । त्यो समय अब धेरै टाढा छैन भन्ने देखिदैछ । महिलाहरुले जसरी घर र परिवारको उचित व्यवस्थापन गर्न सक्छन् त्यसरी नै देशको राजनीतिक व्यवस्थापन कुशलतापूर्वक गर्न सक्छन् । देशलाई समृद्ध बनाउन सक्छन् ।