Logo

दैनिक पाँचसय यात्रु नबढ्ने गरी भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान



काठमाडौँ, ६ भाद्र । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएको हो । मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले भदौ १६ गतेदेखि शर्तसहित निश्चित आधारमा नियमित उडान शुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा खतिवडाले दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको बताउनुभयो । त्यस प्रयोजनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने जिम्मेबारी दिइएको छ । मन्त्रालयले निश्चित आधारमा उडान तालिका तयार गर्नेछ ।

प्रवक्ता डा खतिवडाका अनुसार पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउनेगरी नियमति उडान गरिनेछ ।

बैठकले पीसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउन सकिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यसरी आउने यात्रुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्