Logo

काठमाडौं “कोरोनाको हट स्पट”



काठमाडौं, ६ भाद्र । करिब पाँच महिनासम्म नेपालमा सुस्त रहेको कोरोना संक्रमण अहिले व्यापक रुपमा फैलिएर आम मानिसलाई त्रस्त बनाएको छ । हाल कोरोनाका कारण गम्भीर बिरामीको संख्या बढ्नुका साथै मृत्युदर पनि बढिरहेको छ । विशेष गरी शहरी क्षेत्रका समुदाय तहमा कोरोना व्यापकरुपमा फैलिएकोले आइसोलेसन सेन्टर र अस्पतालहरुले धान्न नसक्ने स्थिति उत्पन्न भई लक्षण नभएका बिरामीलाई घरै बस भन्न थालिएको छ । उपचारको जिम्मा लिँदै आएको सरकारले पीसीआर परीक्षण आफैँ गर भन्न थालेको छ ।

वरिष्ठ दन्तचिकित्सक डा। सुशील कोइराला ‘संक्रमितलाई घरै बसाउँदा घना बस्ती रहेका शहरी क्षेत्रमा रोग नियन्त्रणमा झन् कठिनाइ हुने’ बताउनुहुन्छ । ‘संयुक्त परिवारको परम्पराका हिसाबले बनेका आवास गृहहरु, सरुवा रोगका हिसाबले असुरक्षित कार्यस्थल र सुधार्न नसकेको हाम्रो आचरणका कारण मुख्यतः काठमाडौं उपत्यका कोरोनाको ‘हट स्पट’का रुपमा स्थापित हुन लागेको’ डा। कोइरालाको विश्लेषण छ । प्रस्तुत छ, डा। कोइरालाका अति उपयोगी भनाइहरु समेटेर तयार गरिएको जानकारीमूलक लेख :

काठमाडौं किन बढी जोखिममा ?
लकडाउन खुलेपछि अब कोरोना सिद्धियो जसरी सरकारले म्यासेज दियो, भोलिपल्टैदेखि मास्क लगाउने र भौतिक दूरी कायम गर्नेहरु घटे । मल, रेस्टुराँहरु भीडंभीड भए । लकडाउन बिस्तारै खोल्नुपथ्र्यो तर सरकारलाई कर उठाउनु थियो, सन्देश राम्ररी दिनेतिर ध्यानै पुगेन ।

अर्को जिम्मेवार पदका नेता, पदाधिकारी, विज्ञ, चिकित्सकहरु मास्क नलगाई श्रव्यदृश्यमा देखा पर्न थाले । टेलिभिजनका समाचार, अन्तर्वार्ता र अन्तरक्रियामा सहभागीहरुले पनि सुरक्षा आचरण पालन गरेनन् । झ्याल–ढोका बन्द गरी एसी चलाएर ट्वाइलेटजत्रा कोठामा मास्क नलगाई चिच्याई–चिच्याई अन्तरक्रिया गर्ने, यस्तै कोठामा मन्त्रालय, विभाग र कर्पोरेट तहका मिटिङ गर्नेहरु अहिलेको सन्दर्भमा पढेलेखेका मूर्खहरु हुन्, जो आफूहरु ‘कोभिड फ्री हो, यो गरिबलाई मात्र लाग्छ’ भन्ने भावना राख्छन् । यसबाट आफूहरु पनि असुरक्षित भए र पब्लिकमा पनि गलत सन्देश गएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्