Logo

बैंकका एउटा शाखा मात्रै खुल्ने



काठमाडौं, ६ भाद्र । काठमाडौं उपत्यकामा एउटा बैंकले हरेक जिल्लामा एउटामात्रै शाखा खोल्ने भएका छन् । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएपछि आंशिक शाखा सञ्चालन गर्ने योजना अघिसारेका बैंकले बिहीबार प्रहरी अवरोधपछि अघिकांश शाखा बन्द गरेका थिए ।

बिहीबार बिहानै नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे पक्राउ परेका थिए । त्यसपछि सबैजसो बैंकका कर्मचारीलाई प्रहरीले या त फर्काइदिने वा पक्राउ गर्न थालेपछि बैंकरले स्थानीय कर्मचारीबाट सञ्चालन हुने केही शाखा छाडेर सबै बैंक बन्द गर्ने निर्णय गरेका थिए ।

‘धेरै कर्मचारीलाई प्रहरीले घरजान पनि नदिएपछि हामीले समन्वय गरेर दिउँसोमात्रै घर फर्किने वातावरण बन्यो’, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने । यससँगै बिहीबार दिउँसो बैंकर्स संघले प्रहरी र गृह मन्त्रालयसँग समन्वय गरेको बताए । गृह मन्त्रालयले पनि बिहीबार दिउँसो बैंकका कर्मचारीलाई आवतजावत गर्न सहजीकरण गर्न निर्देशन दिएको छ ।

त्यसपछि बैंकर हरेक जिल्लामा एउटा शाखा सञ्चालन गर्ने सहमतिमा पुगेका हुन् । ‘अब बैंकको प्रधानकार्यालय र तीन जिल्लामा एकएक वटा शाखा कार्यालय सञ्चालन गर्ने र न्यूनतम कर्मचारीबाट काम गर्ने निर्णय भएको छ,’ दाहालले भने । अहिले तीनवटा कम्पनीले प्राथमिक सेयर निष्काशन गरिरहेकाले पनि बैंकमा ग्राहकको चाप बढेको अध्यक्ष दाहाल बताउँछन् । ‘बिहीबार हामीले काठमाडौंमा दुईवटा शाखा खोलेका थियौं ।

त्यसमा ११ बजेसम्ममा २०–२५ वटा कारोबार भइसकेको थियौं’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले भने । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने निषेधाज्ञाको बहानामा विक्री खुला भइसकेका प्राथमिक निष्काशनलाई स्थगित गर्ने वा कानुनविरुद्ध समय थप गर्न नसकिने बताए ।

अहिले प्राथमिक निष्काशन चार दिनमका लागि विक्री खुल्ला हुने व्यवस्था छ । तर त्यस अवधिमा आह्वान रकम विक्री नभएको अवस्थामा मात्रै समय थप गर्न सकिने व्यवस्था छ । धेरै लगानीकर्ता अनलाइन कारोबारमा अभ्यस्त भइसकेकाले जारी निषेधाज्ञाले बहुसंख्यक लगानीकर्तालाई असर नपर्ने ढुंगानाले बताएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।  ।



प्रतिक्रिया दिनुहोस्

Screenshot