Logo

यातायातको लगानी जोखिममा



काठमाडौं, ६ भाद्र । कोरोना भाइरसका कारण यातायात क्षेत्र आर्थिक संकटमा परेको छ। सार्वजनिक यातायात क्षेत्र चार महिनाभन्दा बढी समयदेखि प्रायः ठप्प छ। साउन ७ देखि बन्दाबन्दीको अवस्था अन्त्य भए पनि केही सीमित र छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका थिए। लामो दूरीका सवारीसाधन चैतदेखि सञ्चालनमा छैनन्। पछिल्लो समय अधिकांश स्थानीय तहले निषेधाज्ञा जारी गरेका छन्। यसपछि सार्वजनिक यातायात पूरै ठप्प छ।

सडकमा गुड्ने अधिकांश सवारीसाधन बैंकबाट चर्को ब्याजमा ऋण लिएर सञ्चालनमा छन्। व्यवसायीका अनुसार बस खरिदमा करिब ३० प्रतिशत व्यवसायीको लगानी र ७० प्रतिशत बैंकको ऋणमार्फत लगानी छ। यसरी यो व्यवसायमा अधिकांश लगानी बैंक क्षेत्रकै छ। यातायात सुरु नहुँदा बैंकको कर्जा, बिमा भुक्तानी, कर्मचारीलाई तलब दिने समस्या यो क्षेत्रमा पनि प्रमुख समस्या देखिएको छ। यसबाहेक लामो समयदेखि थन्किएका कारण पार्टपुर्जामा खिया लागेर मर्मत सम्भार गरी सञ्चालन गर्दा अतिरिक्त खर्च थप समस्याका रुपमा अघि तेर्सिएको छ।
बाबा गोकर्णेश्वर यातायात प्रालिका अध्यक्ष भीम बस्नेतका अनुसार बन्दाबन्दीका कारण यातायात व्यवसाय जर्जर अवस्थामा पुगेको छ। यातायात क्षेत्र ठप्पका कारण बैंकको किस्ता, मजदुरको तलब तथा दैनिक जनजीवन व्यवस्थापन गर्न समस्या भएको छ। ‘गाडी नचलेका कारण यातायात व्यवसायीको आम्दानीको स्रोत गुमेको छ, स्रोत गुमेपछि बैंकको किस्ता, कर्मचारीको तलब भत्ता, गाडीको नियमित मर्मत सम्भार, बिमालगायत काम प्रभावित भएको छ’, बस्नेतले भने।

पछिल्लो समयमा फाट्टफुट्ट सार्वजनिक यातायात सञ्चालनमा आए पनि यात्रुको सचेतनाका कारण सञ्चालन खर्च मात्रै बढेको उनीहरूको भनाइ छ। यसबाट दैनिक खटिने कर्मचारीको तलब भत्ता पनि निकाल्न कठिन छ। ‘यस्तो अवस्थामा किस्ता भुत्तानीका लागि बैंकबाट यसरी नै दबाब आइरहे गाडीको साँचो बुझाउनुको विकल्प नभएको बस्नेत बताउँछन्। बन्दाबन्दीका कारण बस सञ्चालन नहुँदा व्यावसायिक क्षति व्यहोर्नुपरेको मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठले बताए। पछिल्लो समयमा मयुरले ५७ वटा नयाँ बस सडकमा हाल्ने योजना बनाएको थियो। बन्दाबन्दीले मयुरका पुरानो बस निस्कन नसकेको अवस्थामा नयाँ हाल्ने योजना गर्भमै तुहिएको छ।

बन्दाबन्दीमा सार्वजनिक यातायात राज्यको उपेक्षामा परेको गोल्डेन एन्जल प्रालिका सञ्चालक प्रकाश चौलागाई बताउँछन्। ‘सार्वजनिक सेवाका लागि खरिद गरिएका करोडौ मूल्यका गाडी ग्यारेजमा थन्किएका छन्’, चौलागाईले भने, ‘शक्ति, पहुँच र पैसाको भरमा निजी नम्बर प्लेटका गाडीले चार दोब्बर भाडा असुल गरी निर्वाध रुपमा यात्रु बोकेका छन्।’ निजी गाडीले आम्दानी गरिरहँदा यातायात व्यवसायी र आवद्ध मजदुर बेरोजगार बस्नु परेको छ।

मजदुरको विचल्ली हुन नदिन अघिल्लो चार महिनासम्म व्यक्तिगत खर्च कटाएर ५० प्रतिशतसम्म तलब दिएको उनले बताए। राज्यबाट राहत नपाउँदा त्यो तलब दिन पनि मुस्किल भएको उनको भनाइ छ। चौलागाईका अनुसार सामाजिक दूरी र आधा सिट क्षमतामा सार्वजनिक यातायात सञ्चालन भएको भए मजदुर र व्यवसायीको बिचल्ली हुँदैन्थ्यो।
सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलले निजी गाडीलाई यात्रु बोक्न दिन नहुने बताए। ‘यात्रु बोक्ने हो भने त्यस्ता गाडीले कालो नम्बर प्लेट लिनैपर्छ’, पौडेलले भने, ‘निजी नम्बर प्लेटका गाडीले पनि समाजिक दूरी कायम नगरी यात्रु बोकेर शुल्क उठाएको छ भने सरकारले कारबाही गर्नुपर्छ।’

मुलुकभर यात्रु बोक्ने बस, मिनीबस, माइक्रो, हायस, टेम्पो, सुमोलगायत चार लाखको हाराहारीमा सार्वजनिक यातायात सञ्चालनमा रहेको सार्वजनिक यातायात विज्ञ प्रेमबहादुर थापाले जानकारी दिए। यो क्षेत्रमा करिब १४ खर्ब रुपैयाँ बराबरको लगानी छ। यसमध्ये करिब ७० प्रतिशत लगानी जोखिममा रहेको यातायात व्यवसायीको दाबी छ। कम्तीमा ७ लाख मजदूर ९एक गुरुजी र एक खलासी गरी० वेरोजगार भएका छन्। एउटादेखि दर्जनौंको संख्यामा गाडी खरिद गरि सञ्चालन गर्ने यो व्यवसायमा आवद्ध छन्। काठमाडौं उपत्यकामा सञ्चालन हुने एउटा गाडीले सामान्य दिनमा दैनिक औसत ४ देखि १० हजार रुपैयाँ र मध्यम दूरीका गाडीले ३ देखि ४ हजार र लामो दूरीका गाडीले १० देखि २० हजार रुपैयाँसम्म दैनिक कमाइ गथ्र्यो। दैनिक करिब १० लाखले सार्वजनिक यातायात सेवा उपयोग गर्ने व्यवसायीको भनाइ रहेको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्