Logo

कोरोना महामारीमा विश्वका धनाढ्यहरुको सम्पत्ति खर्बौं डलरले वृद्धि



सचिना बानियाँः सँसारभर कोरोना भाइरसको महामारीले आर्थिक संकट बढाएको छ । गरिबी बढेको र भोकमरीमा पर्नेहरुको संख्या बढ्ने तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । तर, विश्वका गनेचुनेका धनाढ्यहरुको सम्पत्ति आश्चर्यजनक ढंगले बढेको छ ।

अमेरिकामा पाँच करोडभन्दा बढी व्यक्तिले बेरोजगारीको सुचीमा नाम दर्ता गर्दा अमेरिकी धनाढ्य जेफ बेजोसको सम्पत्ति बढेर ४८ अर्ब डलर पुगेको छ । एमेजनका संस्थापक उनको अहिलेको सम्पत्तिको आधा बढेको छ । फोर्बसका अनुसार उनको चार महिनामा १३ अर्ब डलर सम्पत्ति बढेको छ ।

भिडियो कन्फरेन्समा प्रयोग हुने जुमका संस्थापकको सम्पत्ति साँढे दुई अर्ब डलरले बढेको छ । माइक्रोसफ्टका पूर्व कार्यकारी स्टेभी बालमरको सम्पत्ति झण्डै १६ अर्ब डलरले बढेको छ ।

क्यासिनो म्यागनेट सेल्डन एडेल्सनको सम्पत्ति ५ अर्ब डलरले बढेको छ । इलोन मस्कको सम्पत्ति १७ अर्ब डलरले वृद्धि भएको छ ।
कोरोना भाइरस महामारीयता जुन महिनासम्म अमेरिकाका गनेचुनेका धनाढ्यहरुको कुल ६ सय ३७ अर्ब डलर सम्पत्ति बढेको बिजनेस इन्साइडरले जनाएको छ । अमेरिकी धनाढ्यहरुको मात्र छ खर्ब डलरभन्दा बढी सम्पत्ति बढेको छ ।

सबैभन्दा बढी अनलाइन क्षेत्रका धनाढ्यहरुको सम्पत्ति बढेको छ । गुगल, एप्पल, एमेजन, माइक्रोसफ्ट, जुम, फेसबुक र नेटफलिक्स सम्पत्ति वृद्धि भएकामध्येमा पर्छन् । ब्लुमवर्गका अनुसार जेफ बेजोस, बिल गेट्स, मार्क जुकनवर्ग, वारेन बफेट र ल्यारी एलिसन जस्ता अमेरिकामा मुख्य धनाढ्यको सम्पत्ति १८ मार्च देखि १७ जुनबीचको तीन महिनामा १०१ अर्ब डलर सम्पत्ति बढेको तथ्यांक छ ।

अमेरिकामा मात्र नभई सिंगापुरका धनाढ्यले पनि महामारीमा सम्पत्ति जोडेका छन् । फोर्बसका अनुसार सिंगापुरका ५० जना धनाढ्यले महामारीका बाबजुद ३७ अर्ब डलर जोडेका छन् ।

कोरोना महामारीका बाबजुद सम्पत्ति बढाउन सकेकामा भारतका अर्बपति मुकेश अम्बानी हुन् । उनी सँसारको चौंथो धनी बन्न सफल भएको ब्लुमवर्गले उल्लेख गरेको छ । उनीभन्दा माथि जेफ बेजोस, बिल गेट्स र मार्क जुकनवर्ग छन् ।

जेफ बेजोसको सम्पत्ति १८७ अर्ब डलर रहेको छ भने बिल गेट्सको १२१ अर्ब डलर छ । मार्क जुकनवर्गको १०२ अर्ब डलर र मुकेश अम्बानीको ८०.६ अबं डलर छ । बर्नाड आर्नल्टको ८०.२ अर्ब डलर र वारेन बफेटको ७९.२ अर्ब डलर सम्पत्ति छ ।

कोरोना महामारीमा अर्बौंको सम्पत्ति वृद्धि गर्न सफल भएकामा चिनियाँ धनाढ्य पनि छन् । चीनका दश जना मुख्य धनाढ्यले सम्पत्ति निकै जोड्ने सफलता हासिल गरे । एकै हप्तामा १४ अर्ब डलर समेत जोडेको फोर्बसले जनाएको छ । सबैभन्दा बढी सम्पत्ति जोड्नेमा औषधी निर्माता कम्पनिका मालिक जोङ वीजुआन हुन् जसले एक हप्तामा २ अर्ब डलर सम्पत्ति वृद्धि गरेकी थिइन् । उनका पति सन पियोयाङको सम्पत्ति पनि अरबौंले वृद्धि भएको छ ।

सँसारका एक प्रतिशत धनाढ्यको सम्पत्ति बराबर बाँकी ९९ प्रतिशतको सम्पत्ति रहेको अक्सफार्मको सन् २०१६ को रिपोर्टले देखाएको थियो । सँसारको दुई तिहाई कुल सम्पत्तिमा एक प्रतिशत धनाढ्यको प्रभुत्व हुने आँकलन समेत गरिएको छ । झन् महामारीले थिलथिलो भएका गरिब र मध्यमवर्ग मारमा परेका छन् । सँसारका अर्बपतिहरुको सम्पत्ति झन् अप्रत्यासित बढिरहेको छ । यसले विश्वको आर्थिक संरचनामा चुनौती थपिनसक्ने देखिएको छ । आर्थिक असमानताले अर्को भयावह अवस्था ल्याउन सक्छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्