Logo

प्रणव मुखर्जीको नेपाल साइनो



काठमाडौं, ६ भाद्र । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी यतिबेला दिल्लीस्थित सैनिक अस्पतालको भेन्टिलेटरमा छन् । अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएका उनको स्नायुको शल्यक्रिया गरेपछि कोरोना भाइरसको संक्रमण समेत पुष्टि भएको छ । फोक्सोमा समेत समस्या भएका मुखर्जीको अवस्था निकै गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

८४ वर्षीय मुखर्जीको स्वास्थ्यबारे भारतमा मात्र नभई नेपालमा पनि निकै चासो बढेको छ । उनी पूर्व राष्ट्रपति हुनुले मात्र नेपालमा चासो बढेको होइन । मुखर्जी नेपालका असल मित्र हुनुले पनि हो ।

भारतको वीत्त, अर्थलगायतका मन्त्रालय समेत सम्हालेका उनी सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपति बनाइएका थिए । उनलाई कुनैबेला कँग्रेस आईको अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएको थियो । मुखर्जीको नेपालका राजनीतिक दलका नेतासँग सीधा सम्पर्क थियो ।

सन् २००७ मा तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री साहना प्रधान भारत भ्रमणमा जाँदा मुखर्जीले गरेको सम्मानको तस्बिर विश्वभर चर्चाको विषय बनेको थियो । उनले अञ्जुली भुईं नजिक झारेर प्रधानलाई बाटो देखाएका थिए । भारतका विदेश मन्त्रालयका अधिकारीहरुले मुखर्जीले निहुरेर सम्मान गर्दा आफू पनि निहुरिएका थिए । आफूभन्दा उमेर र अनुभवले माथि रहेकाप्रति मुखर्जी निकै सम्मान गर्थे । उनी फलेको वृक्ष नुहिन्छ भन्ने उदाहरण समेत थिए ।

२०५२ सालमा दिल्लीमा महाकाली सन्धी हुनुअघि मुखर्जी नेपाल भ्रमणमा आएका थिए । तत्कालिन परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीसँग दुई दिन वार्ता गरी प्रारम्भिक सहमतिमा हस्ताक्षर गरेर फर्किका थिए । नेपालसँग भएका महत्वपूर्ण समझदारी, सन्धी सम्झौतामा मुखर्जीले महत्वपूर्ण भुमिका खेलेका थिए ।

मुखर्जीलाई नेपालका नेताहरु सिधा भेट्न पुग्थे । उनी नेपालका नेताहरुप्रति आत्मीय थिए । राष्ट्रपति हुँदा पनि उनीसँग अनौपचारिक भेटघाटमा नेताहरु पुग्थे । मुखर्जीसँगको यही आत्मीयताका कारण पनि उनको स्वास्थ्य अवस्थाबारे नेपालमा चासो र चिन्ता समेत व्यक्त भइरहेको छ ।-File Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्