डोटी, ६ भदौ : राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरोएको छ ।
त्यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोवार नगर्ने जनाएका छन् । क्यासियर पदमा कार्यरत महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भन्दै पाँच दिनका लागि बैंक कारोवार पूर्णरूपमा बन्द गरिएको वाणिज्य बैंक दिपायल शाखाका प्रमुख गणेशबहादुर विष्टले बताए ।
जिल्लामा अहिलेसम्म ८०० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालको पिसीआर ल्याबमा गरिएको कोरोना परीक्षणमा निज महिला कर्मचारीसहित १८ अन्य व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । उनका अनुसार पिसीआर परीक्षणमा जिल्ला प्रहरी कार्यालयका दुई पुरुष तथा एक महिलामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।-रासस/File Photo