Logo

दाताको अभाव खट्कियो, १८ जनामा थेरापीबाट सुधार



काठमाडौँ, ७ भाद्र । जटिल स्वास्थ्य अवस्थाका कोरोनाभाइरस सङ्क्रमितको उपचारमा सहयोगी देखिएको ‘प्लाज्मा थेरापी’ उपचार पद्धतिका लागि ‘डोनर’को अभाव भएको छ । साउन १६ गते नेपालमा पहिलो पटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘प्लाज्मा थेरापी’ पद्धतिबाट दुई बिरामीको उपचार सुरुवात गरिएको थियो । दुवैको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएपछि चिकित्सक तथा अस्पतालले जटिल अवस्थाको सङ्क्रमितमा प्लाज्मा थेरापी उपचार पद्धति अपनाउन प्राथमिकता दिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड–१९ व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका डा. सनतकुमार दासले हाल एउटै ‘डोनर’ मौज्दात नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी सिकिस्त भएपछि डोनर खोज्ने हैन, डोनरबाट पहिले नै रगत लिएर प्लाज्मा तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । तर एउटै डोनर तयार छैनन् ।” शुक्रबार अबेर राति मात्रै त्रिवि शिक्षण अस्पतालमै कार्यरत एकजना ५६ वर्षीय सङ्क्रमितमा थेरापी गरिएको छ । उहाँ दमका दीर्घरोगीसमेत हुनुहुन्छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हालसम्म चार जना कोरोना सङ्क्रमित बिरामीमा प्लाज्मा थेरापी गरिएको छ । दुईजना निको भएर घर फर्केका छन् । गत साता थेरापी गरिएको विराटनगरस्थित नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीको अवस्था सुधार देखिएपनि आइसोलेसनमा स्थान नभएर आईसीयूबाट निकाल्न नपाएको डा। दासले खुलाउनुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्लाज्मा थेरापी उपचार पद्धतिका लागि स्वीकृति दिँदा ४० जना ‘डोनर’ तयार रहेको जनाएको थियो ।

डा. दासले तयार रहेको डोनर हाल आफ्नो प्रतिबद्धताबाट पछाडि हटिरहँदा आकस्मिक अवस्थामा समस्या आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “परिषद्मा दाताको रुपमा नाम उल्लेख गराएका डोनरलाई आवश्यक भएको बेला सम्पर्क गर्दा इच्छुक नभएको जवाफ पाएँ ।” यो समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot