Logo

नीतिगत सुधार तथा दीर्घकालीन समाधानमा केन्द्रित



काठमाडौँ, ७ भाद्र । नेपाल कम्युनिष्ट पार्टी नेकपा द्वारा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदन नीतिगत सुधारमा केन्द्रित रहेको छ । तत्कालीन समस्या समाधानभन्दा दीर्घकालीन समाधानको पक्षमा प्रतिवेदन केन्द्रित रहेको कार्यदलका सदस्यहरुले बताउनुभयो । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार साँझ बालुवाटार पुगेर कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

गत साउन ३० गते गठित कार्यदलले ८ दिन लगाएर प्रतिवेदन पेश गरेको हो । पार्टीको आन्तरिक समस्या समाधानका उपाय पहिल्याउने गरी कार्यदल गठन गरिएको थियो । प्रतिवेदनमा मुलतः पार्टीको एकता प्रक्रिया, पार्टीको संस्थागत परिचालन, दुई जना अध्यक्षको अधिकार र सीमा, पार्टीको एकताको बाँकी कामको टुङ्गो, एकता महाधिवेशन र त्यसले गर्नुपर्ने काम, सरकारको कामलाई प्रभावकारी बनाउने आधारका बारेमा सुझाव दिइएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै, संसदमा संसदीय दलको प्रभावकारिता, सीमा समस्या र त्यसको सामधान, शान्ति प्रक्रियाका बाँकी काम, बाढी पहिरोबाट सिर्जित समस्या र समाधानको उपाय, कोभिड १९ समस्या, त्यसको व्यवस्थापन र न्यूनिकरणको पहल, सरकार सञ्चालनमा भएका समस्या र मन्त्रिपरिषद पुनर्गठनको नीतिगत सुझाव प्रतिवेदनमा दिइएको कार्यदलका सदस्य पाण्डेले बताउनुभयो । कार्यदलले धेरै मेहनत गरेर प्रतिवेदन बुझाएको र अब सचिवालय बैठकमा अध्यक्षद्वारा सो प्रतिवेदन टेबल हुने बताइएको छ ।

सचिवालयमा छलफल गरी सुझावसहित अनुमोदन गरी स्थायी कमिटी बैठकमा पेश हुने स्थायी कमिटी सदस्य पाण्डेले बताउनुभयो । उहाँकाअनुसार स्थायी कमिटी बैठकमा पनि त्यसबारे छलफल भई सर्वसम्मत पारित हुनेछ । सरकारको कामलाई प्रभावकारी बनाउन पार्टीको सुझाव अपरिहार्य रहेकाले पार्टीको संस्थागत सुझाव र परामर्श अनिवार्य रहेको प्रतिवेदनमा सुझाव दिइएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot