Logo

तनहुँ जलविद्यु्तको १८८ मिटरको केवल टनेल ‘ब्रेक थ्रु’



दमौली, ७ भाद्र । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ । एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृहको काम शुरु गर्नका लागि केवल टनेलको काम पूरा भएको हो । आयोजनाका प्रबन्धक श्यामजी भण्डारीले १८८ मिटर केवल टनेलको काम सम्पन्न भएको जानकारी दिनुभयो । “केवल टनेलको ब्रेक थु्रु भएको छ, अब विद्युत गृह निर्माणको काम शुरु हुन्छ, त्यसका लागि तयारी भइरहेको छ,” भण्डारीले भन्नुभयो । भण्डारीका अनुसार कोभिड–१९ का कारण शुरुआती चरणमा केही समयका लागि काममा असर परे पनि हाल निरन्तर काम भइरहेको छ । केवल टनेलबाट विद्युत् गृहमा तारहरु लगिनेछ ।

“कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि पहिलोपटक गरिएको बन्दाबन्दीले केही समय आयोजनाको काम प्रभावित भयो,” उहाँले भन्नुभयो, “पछि सरकारले ठूला आयोजनाहरुमा सुरक्षा सावधानी अपनाएर काम गर्न दिने निर्णय भएपछि स्थानीय प्रशासनसँग समन्वय गरेर कामलाई अगाडि बढाएका छाँै ।” आयोजनाका लागि खटिएका कामदार आयोजनाकै क्याम्पमै बसिरहेका छन् ।

आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग रु ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु ३ अर्ब ८३ करोड १४ लाख ९मूल्य अभिवृद्धि करबाहेक० मा सम्झौता भएको थियो ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामको लागि पुनः बोलपत्र आह्वान भएकामा एशियाली विकास बैङ्क ९एडिबी० ले उक्त बोलपत्र रद्द गरेको छ । पहिलो प्याकेजको ठेक्का लागि आयोजनाले गत वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चार वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । एडिबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot